सिरिन्ज अभावमा फाइजर खोप अभियान स्थगित

काठमाडौंसहित ८ जिल्लाका बालबालिकालाई आज (मंगलबार) देखि लगाइने भनिएको फाइजर खोप अभियान आवश्यक मात्रामा सिरिन्ज नआउँदा तत्काललाई स्थगित भएको छ।

सरकारले १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप दिने तयारी गरेको थियो। खोपलाई आवश्यक पर्ने सिरिन्ज आउने मिति टुंगो नभएकाले तत्काललाई खोप लगाउने कार्य स्थगित गर्नु परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

योसँगै फाइजर खोपका लागि चाहिने घोलक पनि आउन बाँकी रहेको छ। गत पुस ९ गते अमेरिकाले नेपाललाई थप ६ लाख ६४ हजार फाइजर खोप अनुदानमा दिएको थियो।

यसअघि ५७ जिल्लामा सुरु भएको मोडर्ना खोप अभियान भने चलिरहेको छ। ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गएको ४ गतेदेखि सुरु भएको खोप अभियान पुस १४ गतेसम्म चल्नेछ।

मन्त्रालयले पुस १३ देखि पुस २२ गतेसम्म बागमती प्रदेशअन्तर्गत उपत्यकाका तीन जिल्लासहित काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र कर्णाली प्रदेशको सुर्खेतमा खोप अभियान सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button