सि. बि. गहतराजले नयाँ पार्टी घोषणा गर्दै, पार्टीको नाम सामाजिक एकता पार्टी रहने
काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सि. बि. गहतराजले नयाँ पार्टी घोषणा गर्दैछन् ।
गहतराजले आफ्नो पार्टीको नाम ‘सामाजिक एकता पार्टी’ राखेका छन् ।
फाल्गुन १० गते मंगलबार काठमाडौं कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीचमा नयाँ पार्टीको घोषणा गरिने सि.बि.गहतराजले रातोपाटीन्युजलाई बताए ।
सामाजिक एकता पार्टीको अध्यक्ष गहतराज आफै हुने र अन्य पदाधिकारी तथा सदस्यको बारेमा आन्तरिक गृहकार्यले टुंगो लगाउने उनले बताए ।
‘बिभिन्न पार्टीका नेताहरुसंग पनि छलफल भईरहेको छ । धेरै साथीहरु नयाँ पार्टीमा आउँनका लागि इच्छा राख्नुभएको छ । सबैसंग कुराकानी गरेर पदाधिकारी तथा सदस्यहरु टुंगो लगाउँने गृहकार्यमा छु’ गहतराजले भने ।
हालसम्म सरकारमा गएका पार्टीहरुले जनतालाई खल्तीको भोट बैंकमात्र बनाएर बिकास र समृद्धिको नारा मात्र भजाएको र जनतालाई बेकुफ मात्र बनाइ जनताको अधिकारमाथि धोका दिएको उनले बताए ।
नेपालको संविधान २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षतालाई ब्यवहारिक रुपमा कार्यान्वयन गराउदै समाजमा रहेका सबै खालका बिभेदका अन्त्य गरि सामाजिक एकतालाई उच्च सम्मान गर्दै समृद्ध नेपाल निर्माण गर्ने उदेश्यका साथ नयाँ पार्टी सुरु गरिएको गहतराजले जानकारी दिनुभयो ।