सि. बि. गहतराजले भोलि सामाजिक एकता पार्टीको घोषणा गर्दै
काठमाडौँ । सि. बि. गहतराजले मंगलबार (भोलि) सामाजिक एकता पार्टीको घोषणा गर्ने भएका छन् ।
काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा गहतराजले नेतृत्व गरेको पार्टी ‘सामाजिक एकता पार्टी’ घोषणा हुने भएको हो ।
गहतराजले आज एक पत्रकार सम्मेलन गर्दै भोलि मंगलबार पार्टीको घोषणा सभा रहेको जानकारी दिएका छन् ।
उनले आगामी स्थानीय तहको निर्वाचनमा सक्रियता साथ सहभागी हुने र पार्टीको मूल नारा “सामाजिक एकताको सम्मान गरौं, समृद्ध नेपाल निर्माण गरौं” तय गरेका छन् ।
पहिचान सहितको संघियता र संघियता सहितको संविधान, गणतन्त्र, समावेशी सहभागिता सामाजिक न्याय, समानता, स्वतन्त्रता र धर्मनिरपेक्षता लगायतको मुद्दालाई संस्थागत गर्न, विभेदरहित समाजको निर्माण गरी समृद्ध नेपाल निर्माणको लागि देशमा एउटा नयाँ राजनीतिक शक्तिको आवश्यकतालाई महसुस गरी पार्टीको सुरुवात गरिएको गहतराजले बताए । उनले सामाजिक एकता, सुशासन र समृद्धिको मान्यताप्रति विश्वास गर्ने सबैलाई साथ दिन आव्हान समेत गरेका छन्।
केही दिन अघिमात्र धर्म निरपेक्षताको पक्षधरताको रूपमा खडा भइ संविधानको रक्षा गर्ने र देशमा विद्यमान सबै खालको सामाजिक विभेदको अन्त्य गरी देशलाई समृद्ध बनाउन लागिपर्ने मुख्य उद्देश्यका साथ पार्टी दर्ता गरेका थिए ।