सुदूरपश्चिमः शान्ति सुरक्षा चुस्तदुरुस्त बनाउन माग

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन मन्त्रालयले आवश्यक पूर्वतयारी गरिरहेको बताएका छन् ।

प्रदेशसभाको बुधबारको बैठकमा यसअघिको बैठकको शून्य समयमा उठाइएका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री सुवेदीले मन्त्रालयले एम्बुलेन्स खरिदमा भ्रष्टाचार गरेको भन्ने समाचार सत्य नरहेको बताए । 
 
उनले भने, “प्रचलित कानून र विधिको पालना गरेर एम्बुलेन्स खरिद गरिएकाले खरिदमा भ्रष्टाचार भएको भन्ने समाचार भ्रामक हो ।” यसअघिका बैठकको शून्य समयमा प्रदेशसभा सदस्यले एम्बुलेन्स खरिदमा भ्रष्टाचार भएको भन्ने समाचार आएकाले यो विषयमा अधिकार सम्पन्न छानविन समिति गठन गर्नुपर्ने, कोरोना भाइरस फैलिन नदिन समयमा पूर्वतयारी गर्न ध्यानाकर्षण गराएका थिए ।
  
बुधबारको बैठकमा प्रदेशसभा अर्थ, विकास तथा प्राकृति स्रोत समितिमा दफावार छलफल भई तयार पारिएको निजी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ को प्रतिवेदन समितिका सभापति हर्कबहादुर कुँवरले प्रस्तुत गरे । 
 
बैठक प्रारम्भ हुनासाथ ढ्यापढ्यापे समय लिएर सदस्य देवकी मल्लले बझाङको तल्कोट क्षेत्रमा पहिचान हुन नसकेको डरलाग्दो रोगका कारण स्थानीय धनबहादुर कुँवरको मृत्यु भएको र यो रोगले थप दुई जना पीडित भई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना भएकाले रोगको पहिचान गरी प्रभावकारी उपचार व्यवस्था मिलाउन ध्यानाकर्षण गराए । 

शरीरभरि बिमिरा देखिने र ज्वरो आउने यो रोगको लक्षण रहेको बताइएको छ । अर्का सदस्य गोविन्दराज बोहराले प्रदेशमा शान्ति सुरक्षाको अवस्था खस्किएका कारण निर्वाचित वडा अध्यक्षको हत्या हुने जस्ता घटना भइरहेको भन्दै शान्तिसुरक्षाको व्यवस्थालाई चुस्तदुरुस्त बनाउन माग गरे । अर्को बैठक यही फागुन १ गते दिउँसो १ बजे बस्नेछ । -रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button