सुदूरपश्चिमका ६ नेकपा सांसद प्रचण्ड-नेपाल समूह छोडेर ओली समूहतिर लागे

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका ६ जना नेकपाका सांसद प्रधानमन्त्री केपी ओलीको पक्षमा गएका छन् ।

उनीहरूले शनिबार दिउँसो प्रदेश पार्टी कार्यालयमा मुख्यमन्त्री तथा प्रदेश संसदीय दलका नेता त्रिलोचन भट्टले डाकेको संसदीय दलको बैठकमा गरिएको ३ वटा निर्णयमा हस्ताक्षर गर्न इन्कार गर्दै प्रधानमन्त्री ओलीको पक्षमा रहेको संकेत गरेका हुन् ।

प्रदेश सभा सदस्य पठान सिंह बोहरा, लिलाधर भट्ट, गेल्बु बोहरा, महेशदत्त जोशी, नेपालु चौधरी र रतन थापाले उक्त निर्णयमा हस्ताक्षर नगरेका हुन् ।

बैठकमा प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको विरोध गर्दछ, फुट र विग्रहमा नलाग्न पार्टी कार्यकर्तालाई आह्वान गर्दछ र नेकपाको प्रदेश सभाका सदस्य विधानसम्मत बहुमतको पक्षमा रहेको स्पष्ट पार्दछ भन्ने ३ बुँदे निर्णय गरिएको छ।

बैठकमा सहभागी ३६ मध्ये बाँकी ३० जना सांसदले भने उक्त निर्णयमा हस्ताक्षर गरेको दाबी गरिएको छ । सो बैठकमा नेकपाका प्रदेश इन्चार्ज भीम रावलको पनि सहभागितामा थियो ।

प्रदेश सभामा ५३ जना सदस्य छन्। जसमध्ये ३९ जना नेकपाका सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button