सुदूरपश्चिममा पुनः उकालो लाग्यो कोरोना संक्रमणको ग्राफ

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर पुन उकालो लागेको छ ।
प्रदेशका २ वटा अस्पतालमा रहेका प्रयोगशालाको परीक्षाण नतिजामा मात्रै पछिल्लो २४ घण्टामा थप ९२ जनामा कोरोना संक्रमण देखिएको छ ।
केन्द्र सरकार मातहत रहेको डडेल्धुरा अस्पताल र सुदूरपश्चिम प्रदेश सरकार माातहतको सेती प्रादेशिक अस्पतालको प्रयोगशालाको परीक्षण नतिजामा ९२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
डडेल्धुराका अस्पतालको परीक्षण नतिजामा ५६ जनामा कोरोना पोजेटिभ देखिएको छ । डडेल्धुरा अस्पतालको नतिजाअनुसार पोजेटिभ देखिनेमा सबैभन्दा बढी अछाम जिल्लाका छन् । अछामको साँफेबगर नगरपालिकाका २५, पञ्चदेवल विनायक नगरपालिकाका १० र मल्लेख गाउँपालिकाका गरी ३६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै, डोटीमा शिखर नगरपालिकामा १३, केआईसिंह गाउँपालिकामा २ र जोरायल गाउँपालिकामा १ गरी १५ जना, बैतडीको शिगास गाउँपालिकामा २ र डडेल्धुराको नवदूर्गा गाउँपालिकामा २ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
सेती प्रादेशिक अस्पतालको नतिजामा कोरोना पोजेटिभ देखिएका ३६ जनामध्ये सबैभन्दा बढी ३४ जना कैलाली जिल्लाका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिकाका ३० र गोदावरी नगरपालिकाका ४ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै, अछामको बान्नीगढी जयगढका २ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
गत २४ घण्टाको अवधिमा डडेल्धुरा अस्पतालमा २ सय २९ र सेती प्रादेशिक अस्पतालमा ४ सय २६ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।