सूचनाको हक विकासको महत्वपुर्ण औजार हो : सञ्चारमन्त्री कार्की

काठमाण्डौँ । सूचनाको हक विकासको महत्वपुर्ण औजार रहेकोले समाज उत्थानका लागि सबैजनाले हातेमालो गर्दै अघि बढन सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले आग्रह गर्नुभएको छ ।

राष्ट्रिय सूचना आयोगले आज आयोजना गरेको ‘सूचनाको हकमा महिला सहभागिताः चुनौती र अवसर’ विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री कार्कीले लोकतान्त्रिक पद्धतिको सुदृढीकरणका लागि आम नागरिकलाई सक्षम बनाउनुपर्ने भएकोले सूचनाको हकको सफल कार्यान्वयनबाट मात्र सार्वजनिक निकायहरुलाई पारदर्शी नागरिकप्रति जिम्मेवार, जवाफदेही बनाउन सकिने बताएका हुन् ।

कार्यक्रममा आयोगका आयुक्त कमला ओली थापाले सूचनाको हकमा महिला सहभागीताः चुनौती र अवसरका विषयमा कार्यपत्र प्रस्तुत गर्दै सूचनाको हकसम्बन्धी कानुनी व्यवस्थाको उचित अभ्यासले सुशासन ल्याउने भएकोले सूचनाको हकको कार्यान्वयनका लागि नागरिक सचेतना र खबरदारी जरुरी रहेको बताउनुभयो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै बरिष्ठ सञ्चारकर्मी बबिता बस्नेतले सूचनामा नागरिकको सहज पहुँच भयो भने मात्र दिगो विकासको लक्ष्य हासिल गर्न सहयोग पुग्ने धारणा राख्दै सूचनाको हकलाई गाउँतहदेखि नै एउटा साझा अभियानको रुपमा लिएर जानुपर्ने बताउनुभयो । यस्तै टिप्पणीकार युएन उमनका कार्यक्रम प्रमुख सन्तोष आचार्यले हरेक सूचनाको हकमा महिला सहभागीता एवम् योगदानको महत्वपूर्ण हुन सक्ने भएकोले नागरिकको सूचनाको पहुँच निर्माण गर्न तल्लो तहसम्म साझा समावेशी कार्ययोजना बनाई लागु गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुले कार्यपत्रमाथि खुला टिप्पणी र सुझाव दिँदै स्थानीय तहमा सूचना नदिने वातावरण रहेको, सूचना पाउन समस्या भोग्नुपरेको, गोपनीयताको संस्कार रहेको र यस्तो सोचमा परिवर्तन ल्याउन अत्यावश्यक रहेकोले सुचनामा आम नागरिकको पहुँचलाई स्थानीयकरण गर्न सूचनाको हकको महत्व र यसको कार्यान्वयनका लागि थप प्रयास तथा सक्रियताको आवश्यकता रहेको बताएका छन् । सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्नका लागि राष्ट्रिय लक्ष्य, राष्ट्रिय कानुन र कार्यान्वयन पक्ष बलियो हुनुपर्ने सहभागीले जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै आयोगका प्रमुख आयुक्त गुरुङले नेपाली नागरिकले सूचनाको हकको प्रयोग गरेर आफुलाई सशक्त बनाउनुपर्ने बताउनुभयो । उहाँले सूचनाको हकको प्रयोगले दिगो विकासका समग्र लक्ष्य हासिल गर्न सकरात्मक योगदान दिनसक्ने बताउनुहुँदै यसको प्राप्तिको लागि राजनीतिक तथा प्रशासनिक दुवै नेतृत्वको भूमिका निकै महत्वपुर्ण रहने विचार व्यक्त गर्नुभयो ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले ऐन कानुन बनाउने तर तर त्यसको मर्म अनुसार परिपालना नगर्ने संस्कारको पुनरावृति भइरहने हो भने लक्ष्य हासिल गर्ने उदेश्यमा अवरुद्धता आउने भएको राजनीतिक नेतृत्वलाई झकझक्याउन र खबरदारी गर्न आवश्यक रहेको बताउनुभयो ।

आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङको सभापतित्वमा रहेको सो कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य विनादेवी सोभ, प्रदेश सांसद, राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, आयोगका पदाधिकारी तथा कर्मचारी, विभिन्न पेशा, व्यवसायमा क्रियाशिल व्यक्ति, संघसंस्थाका प्रतिनिधि, अधिवक्ता, पत्रकार, अभियन्ता, तथा विभिन्न समुहहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button