स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्न मन्त्री बस्नेतको निर्देशन

भक्तपुर– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको मानवीय संवेदनासित जोडिएका स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन् ।

भक्तपुर चाँगुनारायण नगरपालिका-१ मा प्रस्तावित वीर अस्पताल निर्माणस्थलको अवलोकन तथा अन्तरक्रियामा उनले अस्पताल पूर्वाधार निर्माणका लागि गर्न पर्ने जग्गाको सीमांकन, तारबार, संरक्षण, पहुँच मार्गलगायतका कार्य यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिए ।

उनले भने, ‘कतिपय योजना राम्रा हुँदाहुँदै काम हुन नसकेका उदाहरण थुप्रै छन्, स्थानीयवासीको रोजगारी, सुविधा र समृद्धि जोडिएको यहाँ वैदेशिक सहयोगमा देशकै नमूना अस्पताल बन्दैछ, अस्पताल निर्माणलाई अघि बढाउन सबैको समन्वय र सहयोग होस् ।’

यहाँस्थित पाँच सय ७० रोपनी सरकारी जग्गामा एक हजारदेखि एक हजार पाँच सय शय्याको अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्ने भनी सरकारले विसं २०७३ मा निर्णय गरेको थियो । उक्त स्थानमा अस्पताल निर्माणका लागि सरकारले चीनसँग अनुरोध गरेकामा केही वर्षअघि चिनियाँ टोलीले त्यस क्षेत्रमा सम्भाव्यता अध्ययनसमेत गरेको थियो । 

मन्त्री बस्नेतले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणअघि नै अहिले यहाँ हामीले गर्नुपर्ने प्रारम्भिक कार्य पूरा होस् । कूटनीतिक माध्यमबाट यो आयोजनालाई अघि बढाउनुपर्छ । मौकामा सदुपयोग गर्न सकिएन भने दाताको सहयोग अन्यत्र जान सक्छ ।’

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जनताको स्वास्थ्यसँग जोडिएको मुलुककै ठूलो गौरवको आयोजनालाई सरकारले प्राथमिकतामा राखेकाले अब निर्माण हुन्छ भन्नेमा ढुक्क भएको बताए । उनले भने, ‘विकल्प खोज्नपर्छ कि भन्ने चिन्ता हराएको छ, जग्गाको सीमांकन, सडक विस्तार र पूर्वाधार निर्माणका लागि आवश्यक अन्य कुनै विषयमा समस्या छैन, दाताबाट हुन सकेन भने पनि अस्पताल निर्माणलाई अब सरकारले आफैँले भने पनि अघि बढाउनुपर्छ ।’

अध्ययन टोलीले त्यस बेला जग्गा समथर नभएको तथा बाटो, पानी र विद्युत्को पहुँचको विषयमा केही प्रश्न उठाएको थियो । सरकारले प्रधानमन्त्रीको आगामी भ्रमणका अवसरमा चीनसँग उक्त अस्पताल निर्माणका लागि अनुरोध गर्ने तयारी गरिरहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button