हिजो अवरोध भएको पुलको उद्घाटन नेता पौडेलले आज गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आज बिहीबार बिहान ११ बजेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा पुल उद्घाटन गर्ने बताएको छ।
बुधबार पुल उद्घाटन गर्न जाँदा पौडेललाई निषेधाज्ञा उलंघन गरेको भन्दै प्रहरीले तीन घण्टा नियन्त्रणमा राखेर छाडेको थियो।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उपभोक्ता समितिले सर्वसम्मत निर्णय गरी उद्घाटन गर्न वरिष्ठ नेता पौडेललाई निम्ता दिइएकोले आज पुल उद्घाटन गरिने जानकारी दिए।
गृह जिल्ला तनहुँको व्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल बिहीबार ११ बजेपछि उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए।
कयौं परियोजना कांग्रेसका पालामा सुरू भएको उल्लेख गर्दै शर्माले प्रश्न पुलको नभएर सत्तारूढ दल नेकपाको प्रवृत्तिको रहेको बताए।
‘प्रश्न एउटा घटनाको होइन, सरकारको चरित्रको हो। यो घटनालाई कांग्रेसले गम्भीर रूपमा लिएको छ,’ उनले भने, ‘सरकार, बालुवाटारले चेतेन भने संसददेखि सडकसम्म कठोर ढंगले कांग्रेस उभिन्छ।’
पौडेल बुधबार साँझ रिहा भए पनि देशैभर प्रदर्शन नरोकिने शर्माले बताएका छन्।
‘तनहुँमा कुन पार्टीका नेता/कार्यकर्ताले के व्यवहार गरेका छन् भन्ने भन्दा हामी सरकारले के व्यवहार गरेको छ भन्ने हेर्छौं,’ शर्माले भने, ‘देशका विभिन्न ठाउँमा प्रदर्शन भएका छन्। बिहीबार पनि प्रदर्शन हुन्छ। आज पुल उद्घाटन हुन्छ।’