१४ औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न कति तयार छ कांग्रेस ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारका रुपमा अगाडि आएका उपसभापति विमलेन्द्र निधिले अहिले अर्को कुरामा जोड दिन थालेका छन्, त्यो सहमतिको आधारमा भावी नेतृत्वको चयन ।
आफूलाई देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भन्ने कांग्रेसमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया एक अभिन्न विकल्पका रुपमा रहँदै आएको छ । तर, सत्तामा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई जित्नुपर्ने भन्दै कांग्रेसमा अहिले सहमतिको आधारमा भावी नेतृत्व चयन गर्नुपर्ने आवाज ‘मसिनो’ रुपमै भए पनि उठ्न थालेको छ ।
बीपी जयन्तीका अवसरमा नेपाली कांग्रेसको प्रचार विभागले बुधबार आयोजना गरेको भर्चुअल सम्वादमा उपसभापति निधिले कम्युनिस्ट पार्टीलाई फेरि पनि सत्तामा आउनका लागि रोक्न कांग्रेसले एकताबद्ध हुनुको विकल्प नरहेको सुनाए । उनको भनाइ थियो, ‘यो संविधानको रक्षा गर्न १४ औं महाधिवेशनमा वैचारिक आधारमा एकता एकता गरौं ।’
‘लोकतन्त्रमा विश्वास नगर्ने, संघीयतामा विश्वास नगर्नेहरुले गएको चुनावपछि अहिले सरकारको सञ्चालान गरिरहेको छ । फेरि अर्को चुनावबाट पनि त्यहि राजनीतिक दल सत्तामा आयो भने यो संविधानको रक्षा हुन सक्दैन । संघीयताको पनि रक्षा हुन सक्दैन । जुन संविधान ल्याएको भनेर हामी गर्व गर्दैछौं, त्यसको हामीले रक्षा गर्ने कि नगर्ने ?’ निधिले भने, ‘त्यसैले म नेता साथीहरुलाई भन्न चाहन्छु, यो संविधानको रक्षा गर्न, यो प्रणालीको रक्षा गर्न, प्रणालीलाई बचाउनका लागि हामीले १४ औं महाधिवेशनलाई एकताका आधारमा सम्पन्न गर्नु पर्छ । १४ औं महाधिवेशनलाई वैचारिक एकताको महाधिवेशन बनाउनु पर्छ ।’
राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, मिश्रित निर्वाचन प्रणाली, समाावेशीता, धर्म निरपेक्षता र अहिंसा र शान्तिलाई वैचारिक एकताको सुत्र बनाउनुपर्ने धिकिको जोड छ ।
उपसभापति निधिको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू सहमतिका आधारमा नेतृत्व चयन गर्न तयार रहेको प्रतिक्रिया दिए ।
नेपाली समाजलाई लोकतान्त्रिकरण गर्न चाहेको अवस्थामा नेपाली कांग्रेसमा सहमतिको आधारमा नेतृत्व चयन गर्न सकिने पौडेलको भनाइ छ । त्यसका लागि त्यागको भावना पनि हुनुपर्ने उनको अर्को तर्क छ ।
‘अहिले साथीहरु एकता भनिरहेका छन् । गिरिजा बाबु र किशुनजीको झगडा मिलाउन हामी लागेकै हो । हामीलाई आरएसएस (रामचन्द्र, शैलजा र शेरबहादुर) भन्थे । एकता चाहिन्छ । न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कको आधारमा एकता गर्दा मेल हुन्छ । त्यागको भावना पनि हुनुपर्छ,’ भर्चुअल सम्वादमा पौडेलको भनाइ थियो ।
देउवा तयार होलान् ?
बुधबारको भर्चुअल सम्वादमा देउवाले पार्टीमा सबै एकताबद्ध हुनु जरुरी रहेको बताए । तर, आफ्ना विश्वासपात्र उपसभापति निधिले अगाडि सारेको सर्वसम्मत नेतृत्व चयनको प्रस्तावमा भने कुनै प्रतिक्रिया जनाएनन् ।
सहमतिका आधारमा नेतृत्व चयन गर्दा आफूले नै धेरै त्याग गर्नुपर्ने देउवाको बुझाइ छ । अहिलेकै अवस्थामा उनी आफ्नो प्रतिस्पर्धी खेमाका लागि ‘त्याग’ गर्ने पक्षमा छैनन् ।
देउवा पक्षका एक केन्द्रीय सदस्य सबैले त्याग गरेको अवस्थामा सहमतिको आधारमा नेतृत्व चयन हुन सक्ने बताउँछन् । तर, देउवाले मात्रै त्याग गर्नुपर्छ भन्ने अपेक्षा राख्दा सहमति हुन नसक्ने उनको भनाइ छ ।
‘१४ औं महाधिवेशनबाट सहमतिको आधारमा नेतृत्व चयन गर्ने कुरा राम्रो हो । तर, सहमति निर्माणको आधार स्पष्ट पारिनु पर्छ । एउटा पक्षबाट मात्रै धेरै त्यागको अपेक्षा गर्नु न्यायसँगत हुँदैन,’ देउवा पक्षका ती केन्द्रीय सदस्य भन्छन् ।
सहमतिको वातावरण निर्माणका लागि देउवाले हालै गठन गरेका विभागहरु विघटन गरी पुनः सबैको समझदारीमा विभागका पदाधिकारी र सदस्यहरु चयन गरिनुपर्ने पौडल पक्षको अडान छ ।
तर, देउवा त्यो प्रस्तावमा तब मात्रै सहमत हुनेछन्, जब दोस्रो कार्यकालका लागि पनि आफू सभापति बन्ने निश्चित हुन्छ । अर्थात् उनी पौडेल पक्षबाट सभापतिमा दावी नहोस् भन्ने प्रस्ताव अगाडि सार्ने तयारीमा छन् ।
‘सहमतिको कुराले धेरै छलफलको मौका नै पाएको छैन । यसमा अझै छलफल आवश्यक छ,’ देउवा पक्षका केन्द्रीय सदस्य नाम उल्लेख नगर्ने शर्तमा भन्छन्, ‘धेरै आयामहरुमा छलफल हुँदा सहमति हुन नसक्ने भन्ने चाहिँ हैन ।’
सिटौलाको आफ्नै दाउ
१३ औं महाधिवेशनमा पनि सभापतिमा उठेर अन्तिममा देउवा जित्ने निश्चित भएपछि पछाडि हटेका नेता कृष्ण प्रसाद सिटौलाको बुझाइमा महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चहन होला भन्ने सम्भावना धेरै कम छ ।
बरु, अबको महाधिवेशन पछि पार्टी भित्र एकता कायम गर्ने नेतृत्व चयन गर्नुपर्ने उनको बुझाइ छ । ‘अबको महाधिवेशन पछिको नेतृत्वले हरेक तहमा बृहद एकता निर्माण गर्न सक्नुपर्छ । एकताबद्ध भएर कम्युनिस्ट सरकारको वेथितिका विरुद्धमा जनताको माझमा संघर्षको झण्डा लिएर पुग्नुपर्ने अवस्था छ,’ नेता सटौलाले बुधबारको भर्चुअल सम्वादमा भनेका थिए, ‘यसका लागि एक्लै संघर्ष हुन सक्दैन । एउटा गुट र एउटा समूहले मात्रै संघर्ष गर्न सक्दैन । पार्टी भित्र र बाहिरका लोकतान्त्रि विचारधारा भएका परिवर्तन पक्षधरहरुलाई समटेर हामीले मैदानमा पुग्नु आवश्यक छ ।’