१५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै एकीकृत समाजवादीको तेस्रो केन्द्रीय कमिटी बैठक सम्पन्न

सबै शक्ति स्थानीय निर्वाचनमा केन्द्रित गर्ने नेकपा समाजवादीको निर्णय

काठमाडौं, फाल्गुन २६ । नेकपा (एकीकृत समाजवादी) को तेस्रो केन्द्रीय कमिटी बैठक १५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।

बैठकले सबै शक्ति स्थानीय निर्वाचनमा केन्द्रीत गर्ने निर्णय गरेको छ । दुई दिनदेखि जारी केन्द्रीय समितिको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रीत गर्नेगरी कार्ययोजना पारित गरेको हो ।

त्यस्तै बैठकले अध्यक्ष माधवकुमार नेपालले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । प्रतिवेदनमाथि ९ समूह बनाएर छलफल गरिएको थियो ।

बैठकबाट १५ बुँदे समसामयिक प्रस्तावसमेत पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पारित प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण, एमसीसी र त्यसको व्याख्यात्मक घोषणाको चर्चा, पार्टी पुनर्गठनदेखि हालसम्म भएका संगठनात्मक कार्यहरूको समीक्षा र पार्टीको आगामी कार्ययोजना लगायतका विषय समेटिएको छ ।

समूह छलफलमा निष्कर्ष प्रस्तुत गर्नेहरूमा गण्डकी प्रदेशबाट रेखा थापा बस्याल, सुदूरपश्चिम प्रदेशबाट शेरबहादुर कुँवर, मधेश प्रदेशबाट सत्यनारायण यादव, प्रदेश एकबाट धर्मराज पौडेल, बागमतीबाट विदुर सापकोटा, कर्णालीबाट अमर थापा, लुम्बिनीबाट राजु गुरुङ, उपत्यका तथा सम्पर्क विशेष प्रदेशबाट केदार सञ्जेल र मोर्चा तथा विभागबाट प्रमेश पोखरेल रहेका थिए ।

यस्तै, बैठकले मोर्चा संगठन सञ्चालन निर्देशिका र सम्पर्क मञ्च सञ्चालन निर्देशिका पनि सुझावसहित पारित गरेको छ ।  साथै केही समसामयिक प्रस्ताव समेत बैठकले पारित गरेको प्रचार विभाग प्रमुख खतिवडाले बताए ।

बैठकले केन्द्रीय कमिटीको दोस्रो बैठक पश्चात् स्थायी कमिटी र केन्द्रीय सचिवालयबाट गरिएका राजनीतिक एवं साङ्गठनिक निर्णयहरू अनुमोदन समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button