सिन्धुपाल्चोक जिसस निर्वाचन: कांग्रेस–समाजवादी र एमाले–माओवादीबीच तालमेल हुने

रातोपाटीन्युज, सिन्धुपाल्चोक । सिन्धुको जिल्ला समन्वय समितिको निर्वाचनमा कांग्रेस, एकिकृत समाजवादी (एस) र एमाले, एमाओवादी केन्द्रबीच तालमेल भएपछि प्रतिस्पर्धा रोचक बनेको छ ।
कांगेसको सभापतिसहित सात सदस्य, एसले उपसभापति र एक सदस्यसहित गठबन्धन गर्ने सहमती भएको छ ।
सभापति उम्मेदवारमा कांग्रेसबाट बालकृष्ण श्रेष्ठ र उपसभापतिमा एकीकृत समाजवादी पदमनाथ नेपाललाई अगाडि सारिएको छ । श्रेष्ठ बाह्रबिसे नगरपालिका–५ बाट र बलेफी गाउँपालिकाबाट सदस्य निर्वाचित भएका थिए ।
जिल्लाको तिन नगर र नौ गाउँपालिका गरी १२ स्थानीय तहमा पाँच प्रमुख र सात उपप्रमुख कांग्रेसले जितेको छ । प्रमुख/उपप्रमुखको २५ सिटमा १२ कांग्रेस, सात एमाले, चार माओवादी केन्द्र र एक एकिकृत समाजवादीसंग छ ।
स्थानीय चुनावमा माओवादी केन्द्रसंग गठबन्धन गरेर विजयी भएकी चौतारा साँगाचोकगढी नगरकी उपमेयर सीता थापाले कांग्रेस उम्मेद्वारलाई मत दिने निर्णय गरेसंगै नयाँ गठबन्धन बनेको हो ।
उम्मेद्ववारले २६ गते मध्यान्ह दुई बजे मनोनयन दर्ता गरेका छन् । एमाले र माओवादीसंग ११ सिट छ । दुई पार्टीबीच तालमेल गर्ने सहमती भएको छ । प्रमुखमा माओवादीबाट गणेश विक र उपप्रमुखमा एमालेका जेपी सिलवाल प्रतिस्पर्धामा छन् ।
त्यस्तै सदस्यहरुमा कांग्रेसको र एस गठबन्धनका बलराम केसी, बिक्रम तामाङ, जित बहादुर कार्की, तारा नेपाली, सोममाया श्रेष्ठ, ढकमाया सेतो कोइराला, अम्बिका बस्नेतको उम्मेदवारी रहेको छ भने एमाओबादी केन्द्र र एमाले गठबन्धनका सदस्यहरुमा सविता तामाङ, ठुलोकान्छा सार्की, यमबहादुर पौडेल, सुनिल तामाङ, राधिका तिमल्सिना, संजिव तामाङ, सुस्मिता तामाङको सदस्यमा उम्मेदवार परेको छ ।
जेठ २९ गते जिसस निर्वाचन हुने कार्यतालिका रहेको जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।