चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा जंगली बाघको आक्रमणका घटना दोहोरिन थाल्यो

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा जंगली बाघको आक्रमणका घटना दोहोरिन थालेका छन् ।
गत मंगलबार दिउँसो ४:३० बजे माडी-१, बनकट्टा बोटेटोलमा बाघको आक्रमणबाट स्थानीयबासी बर्ष ३६ का जीतबाम बोट घाइते हुनुभयो ।
नेपाली सेनामा कार्यरत उहाँ आफ्नै बारीमा मकै गोडिरहँदा बाघले आक्रमण गरेको थियो ।
उहाँको बायाँ कानमाथि र घाँटीमा चोट लागेकोमा भरतपुरमा उपचार जारी रहेको छ । त्यस्तै, निकुञ्जसँग सीमा जोडिएको पर्साको ठोरीमा बाघको आक्रमणबाट रामनगर निबासी, बर्ष ४१ का पूर्ण लामा घाइते हुनुभयो ।
बिहीवार खानेपानीको ट्याङ्की सफाइ गरेर फर्किरहँदा उहाँलाई बाघको आक्रमण गरेको हो ।
आक्रमणबाट उहाँको खुट्टामा गम्भीर चोट लागेको छ भने हाल उहाँको उपचार जारी रहेको छ ।
बिहीबार नै बाघको आक्रमणबाट ठोरीमा ७ वटा खसी बाख्राहरु समेत मरेका छन् ।
बाघको आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् ।
मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको हो ।
यस बिषयमा सम्बन्धित निकायले समयमै उचित व्यवस्थापनमा चासो दिनुपर्ने माडी र ठोरीबासीको माग छ ।