‘हटस्पट’मा लकडाउन गर्न प्रधानमन्त्रीलाई सीसीएमसीको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिले कोरोना संक्रमण उच्च रहेको ठाउँहरुमा लकडाउन गर्न सुझाव दिएका छन् ।
प्रधानमन्त्री ओलीले कोरोनाको बढ्दो जोखिमबारे छलफल गर्न सरोकारवाला पक्षहरुसँग शनिवार साँझ गरेको छलफलमा सीसीएमसीले त्यस्तो सुझाव दिएका हुन् ।
बैठकमा प्रधानमन्त्री अोलीले सरकारले जारी गरेका ओदश पालना नभएको भन्दै असन्तुष्टी व्यक्त गरे। सरकारले देशव्यापी लकडाउन नगर्ने जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक भए स्थानीय तहले लकडाउन गर्न सक्ने तर देशव्यापी लकडाउन नहुने बताएका छन्।
निर्णय विपरीत रंगशालमा धेरै दर्शक राखेर खेल खेलाएको र भिडभाड भइरहेको गुनासो आएको भन्दै यसलाई रोक्न कडाइ गर्न सम्बन्धित पक्षलाई सचेत गराउन प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन्।
कोरोनाविरुद्ध सरकारले जारी गरेको मापदण्ड पालना नगर्नेलाई कारबाही गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन्। आदेशको पालना गर्न, सामग्री अभाव हुन नदिन र सीमानामा कडाइ गर्न प्रधानमन्त्री ओलीको निर्देशन छ।
शनिबारको बैठकले आदेश पालना नभइरहेको भन्दै लकडाउन गर्नुपर्ने हुन सक्छ भन्ने निष्कर्ष निकाले पनि त्यसबारे कुनै निर्णय नगरेको बताइएको छ।