मन्त्रिपरिषद बैठकः कोरोना संक्रमणको रोकथाम र नियन्त्रणबारे आवश्यक निर्णय लिइने

काठमाडौं । आज मन्त्रिपरिषदको नियमित बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह पाँच बजे मन्त्रिपरिषद बैठक बस्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीका अनुसार आजको बैठकमा कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि त्यसको रोकथाम र नियन्त्रणबारे छलफल हुनेछ ।
यसअघि आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिसकेको छ ।
सीसीएमसी बैठकले लकडाउन गर्नुपर्ने र त्यसो नभए निषेधाज्ञामा जानुपर्ने सुझाव दिएको थियो । त्यस्तै पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरेको छ ।
कोरोना संक्रमणको चेन ब्रेक गर्न सरकारले आवश्यक निर्णय र निर्देशन जारी गर्ने परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।