कर्णाली प्रदेश सभाको बैठक बस्दै

सुर्खेत । कर्णाली प्रदेशसभाको सातौं अर्थात हिउँदे अधिवेशनको तेस्रो बैठक आज बस्दैछ ।

आज दिउँसो २ बजे बस्ने बैठकमा यसअघि प्रदेश सरकारले जारी गरेका केही अध्यादेशका विषयमा छलफल गर्ने र प्रदेशसभा सदस्यहरुलाई निष्कासन गरिएको सूचना सुनाउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

प्रदेशसभा बैठकमा यसअघि प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट जारी भएका प्रदेश लोकसेवा आयोग कार्यविधि र प्रशासकीय कार्यविधि नियमित गर्नेसम्बन्धी अध्यादेशबारे छलफल हुने बताइएकाे छ ।

यस्तै गत बैठकमा नेकपा माओवादी (केन्द्र) बाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही नेतृत्वको सरकार बचाउन ‘फ्लोर क्रस’ गरेका नेकपा एमालेका तत्कालिन सांसदहरुलाई निष्कासन गरिएको सूचना पनि आज सुनाइने छ ।

आईतबार एमालेले प्रदेशसभामा ‘फ्लोर क्रस’ गरी नेकपा माओवादी (केन्द्र) को पक्षमा मतदान गरेका चारजना सांसदलाई प्रदेशसभा सदस्यबाट निष्कासन गरेको सूचनासहितको पत्र कर्णाली प्रदेशसभामा दर्ता भएको छ ।

एमाले संसदीय दलका नेता यमलाल कंडेलले पार्टीको ह्वीप उल्लंघन गरी पार्टीहित विपरित कार्य गरेको भन्दै प्रदेशसभा सदस्य पदबाट मुक्त गराइएको पत्र प्रदेशसभामा दर्ता गरेको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन् ।

पदमुक्त हुनेहरुमा प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा रहेका छन् । ज्वाला बाहेक अन्य तीनजना माओवादी नेतृत्वको सरकारमा मन्त्री भइसकेका छन् ।

नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको वैशाख १० गते बसेको बैठकले पनि उनीहरूलाई प्रदेश सांसद र पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button