कोरोनाका कारण महत्वपूर्ण विधेयक समितिमै अड्किए

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर कोरोनाको जोखिम बढेसँगै संघीय संसदका समितिहरुको बैठक पनि प्रभावित भएको छ । कोरोनाका कारण संघीय संसदका समितिहरुको बैठक प्रभावित हुँदा महत्वपूर्ण विधेयकहरु समितिमै अड्किएका छन् ।

निरन्तर रुपमा बैठक सञ्चालन हुन नसक्दा राज्य संचालनका लागि आवश्यक नीति नियम निर्माणका काम प्रभावित भएका छन् । महामारीको समयमा राहत वितरण तथा उद्धारका काम प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायलाई जिम्मेवार बनाउन निर्देशन दिने निकायको रुपमा रहेका समितिहरुको बैठक प्रभावित हुँदा समस्या देखिएको छ ।

राष्ट्रियसभामा १० र प्रतिनिधिसभामा १० गरी दुबै सदनका समितिमा २० वटा विधेयक छलफलमा रहेका छन् । सरकारको कार्यसञ्चालनमा महत्वपूर्ण र आवश्यक विधेयकहरु समिति र दुबै सदनमा छलफलमा रहेको संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।

समितिमा अध्यागमन विधेयक, अनुगमन तथा मूल्याङ्कन विधेयक छलफलमा रहेका छन । अनुगमन तथा मूल्याङ्कन विधेयक विचाराधिन रहँदा विकास निर्माणका काम कारवाहीलाई कसरी मूल्याङ्कन गर्ने, कसरी व्यवस्थित गर्ने भन्ने कुराहरु प्रभावित भएका छन ।

यस्तै तथ्याङ्क विधेयक पनि समितिमै विचाराधिन रहेको छ । आगामी वर्ष (२०७८) मा सुरु हुने राष्ट्रिय जनगणनामा तथ्याङ्क कसरी संलकन गर्ने, कसरी व्यवस्थित गर्ने लगायतका प्रावधान विधेयकमा रहेका छन ।

राष्ट्रियसभा र प्रतिनिधिसभामा भ्रष्टाचार र अख्तियार दुरुपयोग सम्बन्धि विधेयक, नागरिकता विधेयक, निजामति सेवा विधेयक लगायत महत्वपूर्ण विधेयकहरु विचाराधिन रहेका छन । निजामति विधेयक पारित नहुँदा प्रदेश निजामति सेवा बन्न सकेको छैन भने स्थानीय तहमा कर्मचारी भर्नाका काम पनि प्रभावित भएका छन् ।

संघीय संसद सुरु भएपछि १ सय २२ वटा विधेयक दर्ता भएका छन । ६८ वटा विधेयक दुबै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणिकरण समेत भइसकेका छन । १ विधेयक फिर्ता भएको छ । संसदको छैटौँ अधिवेशनको अन्त्यसम्म समितिमा २० र दुबै सदनमा १९ वटा विधेयक विचाराधिन रहेका छन ।

प्रतिनिधि सभामा १५ र राष्ट्रियसभामा ३ वटा विधेयक विचाराधिन रहेका छन भने, एउटा विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रियसभामा पठाएको भएपनि पेश हुन बाँकी रहेको छ । १३ वटा विधेयक दर्ता भएपनि प्रकृयामा जाँन बाँकी रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button