माओवादी केन्द्रले समावेशी पार्टी संरचना, बहुसंख्यक युवा पनि अटाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रको मंगलबार बसेको स्थायी समिति बैठकले पार्टी संरचनालाई समावेशी बनाउने निर्णय गरेको छ । बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा महिला ३३५, दलित १५५ र युवा २०५ सहितको समावेशी कमिटी बनाउने निर्णय गरेको हो ।
पार्टी कार्यालय पेरिसडँडामा दिउँसो ३ बजे बसेको बैठकले पार्टीको संगठनात्मक संरचनाबारे यस्तो निर्णय नेता जनार्दन शर्मा प्रभाकरले जानकारी दिएका छन् । बैठकपछि सामाजिक सञ्जालमा एक सन्देश साझा गर्दै नेता शर्माले पार्टी निर्माणको लागि यो निर्णय दूरगामी महत्वको हुने धारणा राखे ।
मंगलबारको माओवादी बैठक विधान संशोधन प्रस्तावमा केन्द्रित भएको थियो । कार्यदलले तयार पारेको प्रस्ताव प्रचण्डको थप सुझावसहित पारित भएको छ ।
नेकपा माओवादी केन्द्रले आफ्नो सबै समितिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । पार्टीको सबै समितिको पदाधिकारीमा एकजना महिला अनिवार्य गरिएको नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । पार्टीमा सबै कमिटीमा ४० वर्षसम्मका युवाहरु कम्तिमा २० प्रतिशत अनिवार्य राख्नुपर्नेछ ।
स्थायी कमिटीको मंगलबार बसेको बैठकले आसन्न केन्द्रीय समितिमा पेस गर्ने गरी पास गरेको अन्तरिम विधानअनुसार केन्द्रीय समितिदेखि सबै समितिमा ३५ प्रतिशत महिला अनिवार्य हुनुपर्नेछ । यो तत्काल लागू हुनेछ ।
प्रवक्ता श्रेष्ठका अनुसार मुदायबाट केन्द्रीय समितिमा कम्तिमा १५ प्रतिशत र प्रदेश, जिल्ला र पालिका कमिटीमा त्यहाँ रहेको जनसंख्याको प्रतिशतमा २ प्रतिशत थपेर अनिवार्य प्रतिनिधित्व गराइने बैठकले निर्णय गरेको छ ।
केन्द्रीय समिति बढीमा २९९ सदस्यीय बनाइनेछ भने केन्द्रमा अध्यक्षका साथै उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहेको पदाधिकारी टिम बन्ने उनले जानकारी दिए ।