निषेधाज्ञामा प्रहरीको कारबाही, सयौं सवारी साधन सडकमै होल्ड

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमणको गतिलाई रोक्न भन्दै सरकारले आजदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।
यस अवधिमा अनुमति प्राप्तबाहेकका निजी तथा सार्वजनिक सवारी साधान चलाउन रोक लगाइएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज विहानैदेखि ट्राफिकसहितका सुरक्षाकर्मीहरु परिचालित भएका छन ।
आज विहानको ताजा अवस्था अनुसार काठमाडौंका बिभिन्न क्षेत्रमा निषेधाज्ञाको अवज्ञा गर्दै चलाइएका सवारी साधानहरुमाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ । जसअनुसार बल्खुदेखि एकान्तकुनासम्मको क्षेत्रमा गाडी र मोटरसाइकल गरी सयभन्दा बढी सवारी साधान ट्राफिकले होल्डमा राखेको छ ।
निषेधाज्ञाको उल्लंघन गरेको भन्दै ट्राफिकले ती सवारी साधानहरुलाई कारबाही स्वरुप होल्डमा राखेको हो । तर केही सवारी चालकहरुले भने तरकारी पुर्याउन जाँदा छाडेको र फर्कंदा होल्डमा राखेको भन्दै गुनासो गरेका छन ।
यसरी होल्डमा राखिएका सवारी साधानहरुलाई आजै बेलुका ७ बजेपछि छाडिने ट्राफिक प्रहरीले बताएको छ ।