उपत्यकामा निषेधाज्ञा लागु भएसँगै अत्यावश्यक बाहेकका गतिविधि सञ्चालनमा रोक

बिशु गुरुङ, ललितपुर । जिल्ला प्रशासन कार्यालयले लकडाउन गरेपछि काठमाडौं उपत्यका सुनसान छ।
बिहीबार विहान ६ बजेदेखि लकडाउन गरेपछि काठमाडौंमा अत्यावश्यक सवारी साधनबाहेक अन्य चलेका छैनन्।
आदेश लागु भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गर्न पाइने छैन । निषेधाज्ञा पालना गराउन काठमाडौंको चोक-चोकमा प्रहरी परिचालन गरिएको छ ।
आदेशानुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, पुस्तकालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन ।
सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्नसक्ने अधिकार दिएको छ ।
सोही अधिकार प्रयोग गरी उपत्यकामा आजदेखि लागू गरिएको आदेश यही २२ गते राति १२ बजेसम्म जारी रहने छ । यस्तै अन्य दर्जन बढी जिल्लामा पनि आदेश जारी छ ।