सीसीएमसी बैठकः भारतसँगका २२ वटा नाका बन्द गर्न सिफारिस

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी)को बैठकले भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्ने सिफारिश गरेको छ ।

शुक्रबार अपरान्ह बसेको बैठकले नेपालको भारततर्फ खुलेका ३५ नाकाहरुमध्ये १३ वटा मात्रै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बाँकी २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले निषेधाज्ञा लागू भएका जिल्लाहरुमा एक चौथाइ कर्मचारीहरु राखेर कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै सरकारी कार्यालय र बैंक वित्तिय संस्थाका थोरै कार्यालय मात्र खुल्नेछन् । सरकारले क्वारेन्टाइनसहित खुला राखेका नाकाहरु काँकडभिट्टा, जोगमनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, वेलहिया, कृष्णनगर, जमुनाहा, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी रहेका छन् ।

नाकाबाट आवतजावत जारी रहँदा नेपालमा कोरोना संक्रमण बढेको निष्कर्ष निकाल्दै बैठकले यस्तो सिफारिस गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

बैठकले बैंक तथा वित्तिय संस्थाहरुले एक चौंथाइ कर्मचारी मात्रै राखेर सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ । त्यस्तै, निर्माण कार्यका हकमा कामदारहरुलाई निर्माणस्थलमै राखेर बाहिर आउजाउ गर्न नपाउने गरी काम गर्न दिन प्रस्ताव गरिएको छ ।

यस्तै बैठकले संघीय मन्त्रीलाई प्रदेश समन्वय गर्नेगरी खटाउन मन्त्रिपरिषद्मा सिफारिस पनि गरेको छ । यसका साथै बैठकले सार्वजनिक निर्माणका सम्पूर्ण काम बन्द गर्ने निर्णय पनि गरेको छ । यदि निर्माण कार्य सुचारु गर्ने भए कामदार कर्मचारीहरुलाई निमार्ण स्थलमा नै राख्नुपर्ने छ ।

उद्योगहरु सञ्चालन गर्ने भए मजदुर, कर्मचारीलाई उद्योग परिसरभित्र नै रहने गरी सञ्चालन गर्न निर्देशन पनि दिएको छ । बैठकले नीजि अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय पनि गरेको छ । विदेशबाट नेपाल आएका विदेशीले क्वारेन्टाइन बस्न अनिवार्य गर्ने र नमाने डिपोट गर्ने पनि निर्णय गरेको छ । क्वारेन्टाइनको रुपमा रहेका होटलहरुलाई थप ब्यबस्थित गर्ने निर्णय गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button