देशभरका होटेलका कोठालाई आइसोलेसन बनाउने होटल संघको प्रस्तावमा सरकारले रुचि देखाएन

काठमाडौं । अस्पतालमा खाली बेड नभएको विज्ञप्ति निकालेर सरकारले नागरिकलाई आफ्नो सुरक्षा आफैँ गर्न अलपत्र छाडिदिएको छ । देशमा उपलब्ध वैकल्पिक संचरनामा अलिकति लगानी गरेर जनतालाई सेवा दिन सकिन्छ, तर सरकारले त्यतातिर सोच्ने जमर्को गरेको छैन ।

काठमाडौं उपत्यकासहित देशभरका होटेलका कोठा अहिले रित्तै छन् । त्यसलाई उपयोग गरेर सर्वसाधारणलाई सुबिस्ता पुर्याउन सकिन्छ, तर शिलान्यासमा व्यस्त सरकारसँग विकल्पबारे सोच्ने फुर्सद छैन ।

गत वर्ष उपत्यकाभित्र र बाहिरका केही जिल्लामा होटेललाई क्वारेन्टिन बनाइएको थियो । तर, यस वर्ष सुनामीझैँ महामारी फैलिँदा पनि त्यसमा छलफलसम्म पनि भएको छैन ।

होटेल संघ नेपाल (हान) मा आबद्ध होटेलका काठमाडौंमा मात्रै तारे होटेलका ६ हजार पाँच सय र देशभर ६० हजार कोठा छन् । त्यस्तै, देशभर साना ननतारे होटेलमा एक लाख ६० हजार कोठा छन् ।

सरकारले सामान्य मेडिकल टिम राखेर हजारौँ बिरामीलाई सहज सेवा दिन सकिने हानका प्रथम उपाध्यक्ष विनायक शाहले बताए । ‘सरकारले यसमा रुचि नै दिएको छैन । सामान्य बिरामीलाई होटेलमा राख्न सकिन्छ । त्यसो हुँदा गम्भीर बिरामीलाई अस्पतालका बेडहरू उपलब्ध गराउन सकिन्छ,’ शाहले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले सिसिएमसीमा सबै क्षेत्रका व्यक्ति भएकाले त्यहीँबाट आवश्यकताअनुसार निर्णय लिने बताए । ‘होटेलका संरचना प्रयोग गर्न सकेमा धेरै समस्या समाधान हुन सक्छ, यो विषयमा छलफल हुन्छ,’ प्रवक्ता अधिकारीले भने ।

अघिल्लोपटक केही होटेलले विदेशबाट आएका नेपालीलाई १४ दिन क्वारेन्टिनमा समेत राखेका थिए, केहीले आइसोलेसनमा समेत राखेका थिए । तर, यसपटक अवस्था गम्भीर भएकाले कोभिडका बिरामी राख्ने पहल आफैँ गर्न होटेलहरू हच्किएका छन् ।

‘क्वारेन्टिन त अहिले पनि राखिएको छ, तर कोरोना लागेका बिरामीलाई आइसोलेसनमा राख्नका लागि सरकारले पहल गर्नुपर्ने हुन्छ,’ उपाध्यक्ष शाहले भने, ‘कम्तीमा बिरामीको अवस्था हेरी होटेलमै राख्ने कि अस्पताल पठाउने भन्ने मेडिकल टिम त हुनैपर्छ ।’

त्यसैगरी, होटेलका कर्मचारीले जोखिम लिँदा जोखिम बिमा पनि आवश्यक हुने र त्यसमा पनि सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ । गत वर्ष पनि केही होटेल र अस्पतालको समन्वयमा आइसोलेसन बनाइएको थियो । स्टार अस्पतालले सोल्टी होटेलमा अक्सिजन र मेडिकल टिमसमेत राखेर कोठाहरू तयार गरिएका थिए, जसको सुविधा लिनेमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्यसमेत थिए ।

गत वर्ष पर्यटन मन्त्रालयको सहमतिमा काठमाडौं जिल्ला प्रशासनले ५४ वटा होटेललाई क्वारेन्टिन बनाउने निर्णय गरेको थियो । त्यस्तै, काठमाडौंबाहिर चितवन, रुपन्देही र कास्कीमा क्वारेन्टिनका लागि दुई–दुई दर्जन होटेलले अनुमित पाएका थिए । विस्तृत समाचार आजको नयाँ पत्रिका दैनिकमा केदार दाहालले लेखेका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button