उपत्यकामा गरिएको निषेधाज्ञा प्रभावकारी रहेको स्थानीय प्रशासनको ठहर, आजदेखि थप कडाई

काठमाडौं । कोरोना संक्रमण तथा नियन्त्रणका लागि भन्दै जारी गरिएको निषेधाज्ञा आजदेखि थप कडा पारिने भएको छ ।
बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आज निषेधाज्ञामा थप कडाई गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको हो ।
उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यसबारे थप निर्णय गर्न लागेको काठमाडौंका प्रजिअ पराजुलीले बताए । शनिवार काठमाडौंका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको थियो ।
‘बैंक तथा वित्तीय संस्था सञ्चालन हुँदा सडकमा सवारी चाप बढेको पाइएको छ,आज देखि थप कडा गर्ने विचार गरेका छौँ । सरकारी कर्मचारी संख्या कटौती गर्ने र गाडी कम चलाउन लगाउन लागिरहेका छौँ’ शनिबार निषेधाज्ञाको अनुगमनपछि प्रजिअ कालीप्रसाद पराजुलीले बताए ।
नेपालमा कोरोना भाइरस संक्रमण दर दिनदिनै बढीरहेको छ । सरकारले कोरोना संक्रण नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यकाका तीन वटा जिल्लासहित देशभरका २९ जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।