मुख्यमन्त्रीमा पोखरेलको पुनः नियुक्तिलाई घोर अलोकतान्त्रिक प्रवृत्ति भन्दैको सभापति देउवाद्वारा भर्त्सना

काठमाडौं, १९ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेलको पुन:नियुक्तिलाई घोर अलोकतान्त्रिक प्रवृत्ति भन्दै भर्त्सना गरेका छन् ।
‘लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्तिको म कडा निन्दा र भर्त्सना गर्दछु,’ आइतबार साँझ एक विज्ञप्ति निकाल्दै सभापति देउवाले भनेका छन् ।
सभापति देउवाले त्यहाँ अनैतिक काम भएको तर्क गरेका छन् । ‘नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसंग बहुमत छ भनेर मान्नु र पुनः मुख्यमन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत हुँदैन,’ उनले भनेका छन् ।
देउवाले नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा र राजमोलगायतका दलले बहुमत सांसदको हस्ताक्षरसहित वैकल्पिक मुख्यमन्त्री प्रस्तावित गरिसकेको स्थितिमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिनु संसदीय मूल्य मान्यता विपरीतको व्यवहार भन्दै कडा शब्दमा भर्त्सना गरेका छन् ।
उनले भनेका छन्, ‘संविधान बमोजिम संसदमा अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपुर्याई राजीनामाको नाटक गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु नेपालको संविधान एवं संसदीय मुल्य–मान्यता, विधि र पद्धतिको ठाडो उल्लंघन हो ।’
केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत भएको भन्दै देउवाले बताएका छन् । उनले बलमिच्याईंले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारू गरेर संसदको बहुमत अनुरुप नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न आग्रह समेत गरेका छन् ।