आन्तरिक उडान वैशाख मसान्तसम्मका लागि रोकियो

काठमाडौं, २० वैशाख । नेपालमा आजदेखि आन्तरिक उडान बन्द गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोमबारदेखि आन्तरिक उडान बन्द गरिएको हो ।
तीव्ररुपमा संक्रमण फैलिएपछि यसको चेनलाई रोक्न हवाई उडान बन्द गर्ने निर्णय गरिएको स्पष्ट पारिएको छ । यसअघि विभिन्न जिल्लामा निषेधाज्ञा जारी गर्दै सरकारले सडक आवागमन ठप्प बनाए पनि हवाई मार्ग खुला राखेको थियो । सरकारले आन्तरिक र केही राष्ट्रमा अन्तर्राष्ट्रिय उडानमा वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार रातिदेखि आन्तरिक र बुधबार (वैशाख २२ गते) बाट अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । आवश्यक पर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भने हुने मन्त्री गुरुङको भनाई छ ।