कास्कीमा निषेधाज्ञा थप कडा पारियो, जोरविजोर सवारी पनि नचल्ने

पोखरा, २० वैशाख । कोरोनाको संक्रमण ह्वात्तै बढेपछि कास्कीमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा समेत रोक लगाइने भएको छ ।

जोरबिजोरका आधारमा सवारी साधन चल्ने दिने गरी वैशाख १५ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई कडाइ पार्दै महिनाभरिका लागि लम्ब्याइएको छ । कोभिड–१९ संकट व्यवस्थापन समिति कास्कीको आइतबार साँझ बसेको बैठकले २१ गतेदेखि सवारी साधन सञ्चालनमा समेत रोक लगाउने निर्णय गरेको हो ।

अत्यावश्यक र सरकारी सवारी साधनहरुबाहेकका कास्की जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधनहरू पनि सञ्चालन गर्न नपाइने निर्णय गरिएको कास्की जिल्ला प्रशासनले जनाएको छ ।

खाद्यान्न, डेरी पसल, बिहान ५ बजेदेखि ९ बजेसम्म खोल्न पाइने निर्णय भएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । औषधी पसल भने २४ घन्टा खोले पनि रोकतोक हुने छैन । यसअघि रेस्टुरेन्टमा ‘टेक अवे’ सेवा सञ्चालन गरिएकोमा त्यो पनि बन्द हुनेछ ।

होटल, रेष्टुरेण्ट, चिया तथा खाजा पसल, मोटेल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुट्सल, खेलकुद स्थल, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्वीमिङ पुल, ब्युटी पार्लर, शैलुन, सुनचाँदी, टेलरिङ, फुटपाथ पसलहरु लगायतका सेवा एवम् स्थलहरु नखोल्ने तथा सञ्चालन नगर्ने निर्देशन जारी गरिएको छ ।

अत्यावश्यक काममाबाहेक घर बाहिर ननिस्कन र हिडडुल नगर्न भनिएको छ भने सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न पनि बन्देज लगाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button