गोंगबु हत्या प्रकरण : प्रहरीको कुकुर देखेपछि डराएर चितवन पुगेकी थिइन् कल्पना

काठमाडौं । गोंगबु हत्या प्रकरणमा संलग्नको आरोपमा पक्राउ परेकी महिलाले प्रहरीको कुकुर देखेपछि डराएर चितवन पुगेको बयान दिएकी छन् ।
रोल्पाका कृष्ण बहादुर बोहोराको हत्या अभियोगमा प्रहरीले चितवनको कालिका नगरपालिका–७ स्थायी घर भइ काठमाडौंको टोखा–१० गोंगबु बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभरी पौडेललाई सोमबार चितवनबाट पक्राउ गरेको थियो । सोमबार पक्राउ परेकी कल्पना बोहोराको शव फेला परेको दिन (आइतबार) भने काठमाडौंमै थिइन् ।
स्थानीयहरुको सूचनाका आधारमा प्रहरीले काठमाडौंको टोखा नगरपालिका–१० गोंगबुको नवज्योति मार्गमा आइतबार बिहान टाउको र खुट्टा काटिएको अवस्थामा बोहोराको शव फेला पारेको थियो । शवको पहिचानका लागि टाउको र खुट्टा खोज्न प्रहरीले जोजो नामक तालिमप्राप्त कुकुर प्राप्त गरेको थियो ।
शवको पहिचानका लागि परिचालन भएको प्रहरीको तालिमप्राप्त कुकुर हत्या अभियोगमा पक्राउ परेकी कल्पना बस्ने गरेको घरसम्म पनि पुगेको थियो ।
कुकुरसहित प्रहरीको टोली घर नजिकै पुगेको देखेपछि छोरा–छोरी डराएका कारण आफू चितवन पुगेको कल्पनाले प्रहरीलाई बयान दिएकी छन् ।
प्रहरीका अनुसार कल्पना आफ्नो भिनाजु नात पर्ने व्यक्तिले चलाएको एम्बुलेन्स चढेर आइतबार साँझ चितवनको कालिका नगरपालिका–९ स्थित आफ्नो माइती पुगेकी थिइन् ।
प्रहरीले मृतक व्यक्तिको पहिचान खुलेपछि सोमबार साँझ नै कल्पनालाई चितवनबाट पक्राउ गरेको थियो । प्रहरीले पक्राउ परेकी कल्पनालाई मंगलबार सार्वजनिक गरिसकेको छ ।
काठमाडौंको गोंगबु क्षेत्रमा छोरा–छोरीसँगै बस्दै आएकी कल्पनाले शनिबार राति कृष्ण बहादुरको हत्या गरेकी थिइन् ।
हत्या गरेपछि खुट्टा र टाउको काटेर शवलाई सुट्केश भित्र हालेर घर नजिकैको सडकमा फालेकी थिइन् भने टाउको र खुट्टा सहितको झोला अलि पर अर्को सडकमा फालेकी थिइन् ।
प्रहरीले कृष्ण बहादुरको हत्या अभियोगमा कल्पनासहित शव व्यवस्थापनमा सहयोग गरेको अभियोगमा उनकी १५ वर्षीया छोरीलाई समेत पक्राउ गरेको थियो ।
पक्राउ परेका दुवैजनामाथि कर्तव्य गरेर ज्यान मारेको अभियोगमा थप छानबिन भइरहेको प्रहरीले जानकारी दिएको छ ।