काठमाडौं उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय भएको छ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
आइतबार मन्त्रिपरिषद् बैठकले १५ दिन थप निषेधाज्ञा जारी गर्न प्रशासनलाई निर्देशन दिएको थियो । निषेधाज्ञालाई कडाइ र कोरोना महामारी नियन्त्रण गर्न काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
यसअघि जारी भएको पहिलो चरणको निषेधाज्ञा भोलि २२ गते राति १२ बजे सकिँदैछ । यस्तै यो समयमा उपत्यका छाड्नेलाई सहजीकरण गर्ने पराजुलीले बताए । पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ । बेलुका पूर्ण रुपमा बन्द गरिनेछ ।