ओलीलाई सत्ताबाट ओराल्न माधव समूहका सांसद राजीनामा दिने तयारीमा

काठमाडौं । नेकपा एमालेभित्रको पार्टी विवाद झन्-झन् पेचिलो बन्दै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवनेपालपक्षका सांसदलाइ कारवाही गरेसंगै पार्टीका नेताहरु करिव दुई भागमा विभाजित भएका छन् ।
यसबीच प्रधानमन्त्री ओलीलाई सरबारबाट हटाउन नेपाल पक्षका सांसदले सामुहिक राजीनामा दिनेबारे छलफलमासम्म जुटेका छन् । प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने निर्णय गरेसँगै एमालेको माधव नेपाल पक्षका सांसद सामूहिक राजीनामा गर्ने छलफलमा जुटेको स्रोतको भनाई छ ।
सांसदबाट राजीनामा गर्ने राजनीतिक निर्णयबारेमा छलफल भइरहेको छ । तर, यसबारेमा टुंगो लागिसकेको नेपाल निकट स्रोतले भन्यो । नेपाल पक्षका सांसदमध्ये कम्तीमा २० जनाले राजीनामा दिएको अवस्थामा विपक्षी गठबन्धनलाई सरकार बनाउन सहज हुने देखिएको छ ।
त्यसो हुँदा संसदमा २ सय ५१ जना सांसद हुनेछन् । र, कायम रहेको सांसद संख्याको बहुमतले सरकार बनाउन बाटो खुल्नेछ । त्यसअनुसार १ सय २८ जना भए बहुमत पुग्छ । त्यसका लागि कांग्रेस–माओवादी गठबन्धनसँग रहेको १ सय ९ सिटमा १९ जना सांसद भए पुग्ने देखिएको हो ।
जसपाको उपेन्द्र–बाबुराम भट्टराई पक्षका १८ सांसद र जनमोर्चाको १ सांसद जोड्दा बहुमत संख्या पुग्न सक्छ । सरकार बन्ने अवस्था आउँदा उपेन्द्र यादव पक्षका सांसदको संख्या २२ सम्म पुग्न सक्ने देखिएको छ ।
२७ वैशाखमा विश्वासको मत लिनु अघि नेपाल पक्षका ३० जना सांसदहरूले राजीनामा दिएमा ओलीलाई थप समस्या पर्ने देखिन्छ । नेपाल पक्षका नेताहरू ओलीलाई सत्ताबाट ओराल्न जुनसुकै राजनीतिक निर्णय लिन सक्ने यसअघि नै बताउँदै आएका छन् ।