ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

पार्टीको आज बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो। प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि माओवादीको बैठक बसेर समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको हो।

माओवादीले संसदलाई विश्वासको मत नभएको पत्र भने भोलि लेख्ने भएको छ। बुधबार समर्थन फिर्ताको पत्र मार्फत जानकारी दिइने एक नेताले जानकारी दिए।

आज बसेको स्थायी समिति बैठक सकिँदा ५ बजिसकेका कारण बुधबार कार्यालय खुलेपछि समर्थन फिर्ताको पत्र बुझाइने ती नेताले बताए।

यसअघि, माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको थियो। तर, नयाँ सत्ता समीकरण बनाउन नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग भएको छलफल टुंगोमा नपुगेपछि पार्टीले समर्थन फिर्ता लिन सकेको थिएन।

प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि पार्टीले बैठक बसेर समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको हो।

२७५ सदस्यीय प्रतिनिधि सभामा हाल मतदानमा सहभागी बन्न पाउने सांसद २७१ जना छन्। माओवादी केन्द्रका ५३ जना सांसद भए पनि चार जना पार्टी परित्याग गरेकाले माओवादीसँग हाल सभामुखसहित ४९ जना सांसद मात्रै छन् भने एमालेका १२१ सांसद छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button