टिएमसीकी नेतृ बनर्जी पश्चिम बंगालको मुख्यमन्त्री बन्दै , आज सपथ ग्रहण गर्दै

एजेन्सी, २२ बैशाख । भारतको पश्चिम बंगालमा तृणमूल कंग्रेस (टिएमसी) ले तेस्रो पटक सरकार गठन गर्दैछ । हालै सम्पन्न विधानसभामा अत्यधिक बहुमतसहित विजयी भएको टिएमसीकी नेतृ ममता बनर्जी तेस्रो कार्यकालका लागि बंगालको मुख्यमन्त्री बन्दैछन् ।

बनर्जीले आज बिहान मुख्यमन्त्री पदको सपथ ग्रहण लिन लागेको भारतीय समाचार माध्यमले जनाएका छन् । बाँकी विधायकको सपथ ग्रहण बिहीबार र शुक्रबार हुने समाचारमा उल्लेख गरिएको छ ।

लगातार तेस्रो पटक पश्चिम बंगालको मुख्यमन्त्री बन्न लागेकी बनर्जीको सपथ ग्रहण कार्यक्रम आज ११ बजे राजभवनको टाउन हलमा हुनेछ । सपथ ग्रहण कार्यक्रममा प्रशान्त किशोर, पूर्व क्रिकेटर सौरव गांगुली, पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्य र भाजपा प्रदेश अध्यक्ष दिलिप घोषलाई आमन्त्रण गरिएको छ ।

हालै आठ चरणमा सम्पन्न विधानसभा चुनावमा सत्तारुढ दल टिएमसीले २१३ सिटसँगै सानदार जीत हात पारेको छ । तर ममता भने नन्दीग्राममा भाजपाका शुभेन्दु अधिकारीसँग पराजित हुन पुगेकी थिइन् । चुनावमा हारेपछि पनि मुख्यमन्त्रीको सपथ लिन लागेकी बनर्जी संविधान अनुसार ६ महिनाभित्र विधानसभाको सदस्यमा निर्वाचित हुनुपर्छ ।

ममता बनर्जी सन् २०११ मा पहिलो पटक बंगालको मुख्यमन्त्री बनेकी थिइन् । उनको दल टिएमसीले त्यतिबेला लामो समयसम्म सत्तामा रहेको कम्युनिष्टलाई नराम्रोसँग हराएको थियो ।

सन् २०१६ को विधानसभामा पनि टिएमसीले बहुमत ल्याएपछि उनी दोस्रो पटक मुख्यमन्त्री बनिन् । सन् १९५५ मा कोलकत्तामा जन्मिएकी बनर्जी केन्द्रमा समेत दुई पटक रेल मन्त्री बनिसकेकी छन् ।

बनर्जीले आफ्नो राजनीतिक यात्रा भारतीय कांग्रेसबाट सुरु गरेकी हुन् । तर मतभेद बढ्दै गएपछि उनले सन् १९९७ मा कांग्रेस परित्याग गरिन् र एक वर्षपछि तृणमूल कांग्रेसको स्थापना गरेकी थिइन् । त्यसपछि उनले अटल बिहारी बाजपेयीको सरकारलाई समर्थन गर्दै रेन मन्त्री बनिन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button