त्रिविका उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेको आरोपमा नेवि संघका कार्यकर्ता पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति र शिक्षाशास्त्र संकायको रजिष्ट्रारको कार्यकक्षमा तोडफोड गरेको आरोपमा नेपाल विद्यार्थी संघ (नेवि संघ)का कार्यकर्ता पक्राउ परेका छन् ।
मंगलबार त्रिविको उपकुलपति, रजिष्ट्रारको कार्यकक्षमा तोडफोड गरेको आरोपमा प्रहरीले नेवि संघका ७ जना कार्यकर्तालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेवि संघ कार्यकर्ताहरु सम्झना खत्री, सञ्जय चौधरी, हरिप्रसाद जोशी, रामबहादुर धामी, रमेश कुँवर, विष्णु बडौला र मनोज कुँवर छन् ।
नेवि संघको त्रिवि समितिका सभापति हरि आचार्यले परीक्षाको विकल्प दिन माग गर्दै गएका विज्ञान संकायका विद्यार्थीले तोडफोड गरेको बताएका छन् । यसैबीच त्रिविमा भएको तोडफोडको घटनाप्रति सत्तारुढ दल नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियूले विरोध जनाएको छ ।
अनेरास्ववियूका त्रिवि कमिटी संयोजक लोकेन्द्र ऐरीले एक विज्ञप्ती जारी गर्दै विद्यार्थीकै नियमित कामकाजमा असर पर्ने गरी त्रिविमा तोडफोड भएको भन्दै त्यसको विरोध जनाएका हुन् ।