प्रधानमन्त्री ओली अल्पमतमा, फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट आफूले विशवासको मत पाउन नसके फेरि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने संकेत गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुसँग् बुधबार भएको छलफलमा ओलीले निर्वाचनमा मिलेर जान प्रस्तावसमेत गरे ।

कांग्रेसले विश्वासको प्रस्ताव असफल बनाउने निर्णय गरेकै भोलिपल्ट बुधबार ओली सहयोगीहरुका साथ देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । उनले लामो पृष्ठभूमिका साथ आफूले संसदबाट विश्वासको मत नपाए निर्वाचनमा जाने परिस्थिति बन्ने उल्लेख गरेको कांग्रेसका एक नेताले बताए ।

प्रधानमन्त्री ओलीले केही समयअघि देउवासँग आगामी असोज वा मंसिरभित्र निर्वाचन हुने गरी अघि बढ्ने बताउँदै त्यसका लागि सहयोगको आग्रह गरेका थिए ।

निर्वाचन गराउने ओलीको भनाइमा विश्वस्त बन्दै देउवाले पनि सरकार बनाउनेतिर चासो दिएका थिएनन् । उनको प्राथमिकता यतिबेला प्रधानमन्त्री बन्ने भन्दा पनि निर्वाचनमा जानेमा छ । ओलीले आफ्नो विकल्पमा बहुमतको सरकार बन्ने अवस्थासमेत नभएको बताएका छन् ।

‘मैले संसदबाट विश्वासको मत पाउन सकिन भने निर्वाचनमा जाने परिस्थिति आउन सक्छ । त्यतिबेला मिलेर जाँदा फाइदा हुने तपाईहरुलाइ नै हो’, ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । – कान्तिपुर दैनिक

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button