विद्यालय अनिश्चितकालका लागि बन्द, होटल रेष्टुरेन्टमा बसेर खान नपाइने

काठमाडौं । सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ । कोरोना जोखिम बढ्दै गएको भन्दै अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने सरकारले निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधी मन्त्री डा युवराज खतिवडाले मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै शैक्षिक संस्था, सेमिनार, पार्टी प्यालेसमा गरिएको बन्द कायम रहेने जानकारी दिए ।
‘शैक्षिक संस्था, सेमिनार, पार्टी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको छ’ डा खतिवडाले भने ।
त्यस्तै सरकारले काठमाडौं उपत्यका र २०० भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा जनतासँग प्रत्यक्ष जोडिएर दिने सेवा प्रवाहका काम सकेसम्म घरबाटै गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
‘सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारीमात्रै कार्यालयमा आउने र बाँकीले घरबाटै काम गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउने,’ प्रवक्ता डा खतिवडाले भने ।
बढी जनसम्पर्क हुने कार्यालयका सेवा अनलाइनबाट सम्भव नदेखिए अर्को निर्णय नभएसम्म बन्द गर्न उनले आग्रह गरेका छन्। त्यस्तै केही समय अघिमात्र खुलेका होटल तथा रेष्टुरेन्टमा पुन बसेर खान नपाइने भएको छ ।
सरकारले होटल तथा रेष्टुरेन्टमा बसेर खान नपाइने नियम पुन लागू गरेको छ। त्यस्तै सरकारले १० वटा नाकाबाट मात्रै नेपाल आउन पाइने निर्णय गरेको छ ।
नेपालीलाई स्थलमार्गबाट आउन यसअघि २० नाकाबाट प्रवेश दिइएकोमा अबदेखि १० नाकाबाट मात्रै नेपाल भित्रन दिइने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए। उनका अनुसार काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइनेछ।
सीमा नाका भने भदौ ३१ गते बुधबारसम्म बन्द गर्ने निर्णय मन्त्रिपरिषदले गरेको खतिवडाले बताए। मालसामान ढुवानी र जोखिममा रहेका नेपालीलाई नाकाबाट आउन दिने उनले बताए।
साउन १५ देखि रेष्टुरेन्टमा बसेर खान पनि पाइने नियम लागू भएकोमा कोरोना महामारी बढेकोले फेरि ‘टेक अवे’ अर्थात लिएर जान मात्र मिल्ने निर्णय गरिएको खतिवडाले जानकारी दिए ।
‘होटल रेष्टुरा खोल्ने भनिएको थियो। अब होटल र रेष्टुराबाट तयार गरेको खाद्य परिकार लैजाने सेवा टेक अवेमात्र दिने निर्णय भएको छ, उनले भने, ‘स्वास्थ्य सुरक्षाका उपाय अपनाएर परिचालित हौऔं भन्दा मास्क नलगाउने र भीडभाड बढेपछि टेक अवेमात्रै सञ्चालन गर्न दिइएको हो।’