आजदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गए रातिदेखि अन्तर्राष्ट्रिय उडान पनि रोकिएको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरे अनुसार आजबाट सबै उडान सेवा बन्द गरिएको हो ।
मन्त्रिपरिषद्को वैशाख १९ मा भएको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुबै स्थगन गर्ने निर्णय गरेको थियो ।
नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।
हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी १० दिन अनिवार्य होटेल क्वारेन्टिन बस्नु पर्नेछ ।
उनीहरूका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौंका विभिन्न आठ होटल सूचीकृत गरेको छ । यसअवधिमा चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने क्यानले जनाएको छ ।
आन्तरिक र अन्तर्राष्ट्रिय चार्टड तथा उद्धार उडानको हकमा स्वास्थ्य सुरक्षाको मापदण्डको पूर्ण पालना हुनेगरी पर्यटन मन्त्रालयले उडान अनुमति जारी गर्नेछ । चार्टड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउने जाने यात्रुको बारकोड र फोटोसहितको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ ।
कोभिड महामारीको जोखिम नियन्त्रणका लागि सरकारले गत वैशाख १६ देखि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागु गरेको छ ।
अघिल्लो वर्ष कोभिड–१९ संक्रमणको पहिलो लहर नेपालमा फैलिएपछि महामारी नियन्त्रणका लागि सरकारले चैत ११ देखि देशभर लकडाउन गरेको थियो ।
चैत १० देखि आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान स्थगन गरेको थियो । महामारी घटेपछि गत भदौ १६ गतेबाट अन्तर्राष्ट्रिय तथा असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालनमा आएका थिए ।