ग्यास उद्योगीसँग पर्याप्त सिलिन्डर नहुँदा अक्सिजन अभाव

काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोभिडको दोस्रो लहरले बिरामीको संख्या बढ्दा उपचारमा आवश्यक अक्सिजनको आपूर्ति सिलिन्डर अभावका कारण प्रभावित भएको छ।

ग्यास उद्योगीसँग पर्याप्त सिलिन्डर नहुँदा आवश्यकताअनुसार अक्सिजन आपूर्ति हुन सकेको छैन।

उद्योगसँग अक्सिजन रिफिलिङ गर्ने क्षमता भए पनि सिलिन्डर नहुँदा अक्सिजन अभाव भएको नेपाल अक्सिजन उत्पादक संघले जनाएको छ।

सिलिन्डर नभएकाले उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको संघका अध्यक्ष गौरव शारडाले बतााए।

‘उपत्यकाबाहिरका ग्यास रिफिलिङ उद्योग ५० प्रतिशत क्षमतामा मात्र चलेका छन्,’ उनले भने, ‘सिलिन्डर नहुँदा उद्योगले अक्सिजन भर्न पाएनन्।’

सरकारले सिलिन्डर उपलब्ध गराउने हो भने आवश्यक जति अक्सिजन उपलब्ध गराउने उद्योगीको तर्क छ।

संघका अनुसार अहिले मुलुकभर करिब ६०/७० हजार अक्सिजन सिलिन्डर छन्।

केहीले अनावश्यक रूपमा स्टक गरेको बताए पनि सिलिन्डर कम हुनु नै अभावको मुख्य समस्या भएको उद्योगी बताउँछन्।

मुलुकमा निजी क्षेत्रले दुई दर्जन अक्सिजन ग्यास उद्योग सञ्चालन गरेका छन्। तीमध्ये आठवटा उपत्यकामा छन्।

डेढ दर्जन उद्योग चितवन, बुटवल, भैरहवा, नेपालगन्ज, वीरगन्ज, विराटनगर, सुनसरीलगायतका ठाउँमा छन्।

राजधानीका उद्योगले पूर्ण क्षमतामा सिलिन्डर भरे पनि बाहिरका उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको शारडाले बताए।

‘कोभिड संक्रमण बढ्दै जाँदा अक्सिजनको चरम अभाव भएको छ,’ उनले भने, ‘सिलिन्डर नहुँदा उपत्यकाबाहिरका उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन पाएनन्।’

निजी क्षेत्रले सञ्चालन गरेका उद्योगमा दैनिक १७ हजार सिलिन्डर भर्ने क्षमता छ। तीमध्ये उपत्यकाका आठ उद्योगले दैनिक आठ हजार सिलिन्डर भर्न सक्छन्।

केही सरकारी अस्पतालमा पनि अक्सिजन भर्ने प्लान्ट रहेकाे खबर नागरिक दैनिकमा छ ।

विगतमा अक्सिजनको धेरै माग नहुने भएकाले उद्योगले धेरै सिलिन्डर खरिद गरेनन्।

कोभिडको उपचारमा अक्सिजन अनिवार्य भएकाले माग एक्कासि बढेको छ तर सिलिन्डर नहुँदा उद्योगले भर्न पाएका छैनन्।

उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारले खाली सिलिन्डर ल्याउने व्यवस्था मिलाउनुपर्ने अध्यक्ष शारडा बताउँछन्।

उद्योगलाई सिलिन्डर उपलब्ध गराउन सके उत्पादन वृद्धि गर्न सकिने उनको तर्क छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button