ओलीसँग कुनै सहमति भएको छैन, भ्रम र अलमलमा नपरौं: माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अहिलेसम्म अध्यक्ष ओलीसँग कुनै सहमति नभएको बताएका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी समस्यालाई लिएर छलफलहरु भए पनि अहिलेसम्म कुनै सहमति नभएको उनले आज सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका हुन ।
०७७ फागुन २८ गते र तत्पश्चात बसेका बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्ने र ०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफूहरुको बटमलाइन भएको उनको भनाइ छ ।
उनले आज सामाजिक सञ्जालमा लेखेका छन ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।’