देशभर सामान्यदेखि पूर्ण बदली, मेघगर्जनसहित केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ – देशभरको मौसम बुधबार सामान्यतया बदली भई धेरै स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ रहेको र मनसुनी गतिविधि सक्रिय भएकाले मौसम बदली भएको हो ।

अहिले देशका अधिकांश भू–भागमा समान्यदेखि पूर्ण बदली रहेको छ । सबै प्रदेशका थोरै–थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसमविदले बताएका छन् ।

बुधबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं ५, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २ र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन्।

यस्तै राति पनि देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाग्मती प्रदेश, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button