एमाले नेपाल–खनाल पक्षको स्थायी समिति बैठक बस्दै, सांसदहरुको सामुहिक राजीनामाबारे निर्णय गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक आज बस्दैछ ।

पार्टी एकताका लागि अध्यक्ष एवम् प्रधानमन्त्री ओली तयार नभएको निष्कर्ष निकाल्दै थप निर्णय गर्नका लागि आज साँझ नेपाल–खनाल पक्षको स्थायी समिति बैठक बस्न लागेको हो ।

यसअघि शनिबार काठमाडौंमा सम्पन्न नेपाल–खनाल पक्षका सांसदहरुको बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली एकताका लागि तयार नभएको निष्कर्ष निकालेको थियो । नेपाल–खनाल समूहका सांसदहरुको बैठकले पार्टी एकताबारे समिक्षा गर्दै केपी ओली पार्टी एकताका लागि तयार नभएको निश्कर्ष निकालेको हो ।

‘आज हाम्रो पक्षका सांसदहरुको बैठक बसेको थियो, जहाँ हामीले ओली पक्षसँग भएका वार्ता र एकताका प्रयासहरूबारे समीक्षा गर्यौं,’ माधव नेपालनिकट एक नेताले भने, ‘ओलीजी पार्टी एकताका लागि तयार नरहेको हाम्रो निश्कर्ष रह्यो, अब आइतबार साँझ स्थायी कमिटीको बैठक बसेर थप निर्णय गर्छौं ।’

शनिबारको छलफलमा केपी ओलीलाई विश्वासको मत दिनुभन्दा सामुहिक राजीनामा गर्दा उपयुक्त हुने निश्कर्ष निस्किएको ती नेताले बताए ।

तर, यसबारेमा स्थायी कमिटीको बैठकबाटै औपचारिक निर्णय गरिने उनले बताए । ती नेताले भने, ‘आजै राजीनामा पत्र लेखिएको वा हस्ताक्षर गरिएको होइन, यसबारे आइतबार स्थायी कमिटीमा छलफल हुन्छ ।’

वैशाख २७ गते विश्वासको मत दिने बेला फ्लोर क्रस गर्नु अनुशासन विपरीत हुने भएकाले त्यस अगावै सांसदहरुले राजीनामा दिने सम्भावना बढेको ती नेताले बताए । उनले भने, ‘अब राजीनामाको विकल्प देखिएन ।’

यसबीच, तीन दिनको अवधिमा एमालेका दोस्रो तहका नेताहरुले ओली पक्षसँग सहमतिका लागि पटक–पटक छलफल गरेका थिए । तर, ओलीले आफ्नो अडान नछाडेको र जेठ २ मा फर्कनेदेखि लिएर कारवाही फिर्ता लिनसम्म तयार नदेखिएकाले ओलीसँग गर्न खोजिएको सहमति असफल भएको नेपाल–खनाल पक्षका सांसदहरुको ठहर छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button