संवैधानिक परिषद्को बैठक आज, सापकोटा र देउवाले बहिष्कार गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। आइतबार ९ बजेका लागि बैठक बोलाइएको हो।

लामो समयपछि परिषद्को बैठक बस्न लागेको हो। गत ३० मंसिरयता परिषद्को बैठक बसेको छैन। यसबीच आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नहुने भएका छन्।

शनिवार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने बताएका थिए।

यसले संविधानको आधारलाई नै भत्काउने कार्य गरेको बताउँदै उनले कानून निर्माण र संशोधन गर्ने संसदको आधारभूत, मौलिक एवं अविछिन्न अधिकारलाई नै कुण्ठित गरी अध्यादेशमार्फत संविधानको संरचना नै भत्किने अध्यादेश जारी गर्ने काम भएको बताए।

‘संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरित, संसदीय मूल्य, मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुदा उक्त बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यलाई आह्वान गर्दछु,’ देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको थियो।

त्यस्तै सभामुख अग्निप्रसाद सापकोटाले पनि बैठकमा सहभागी नहुने जनाइसकेका छन्। सापकोटा मंसिर ३० को बैठकमा पनि सहभागी भएका थिएनन्।

३० मंसिरमा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा सहभागी बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

राष्ट्रपति भण्डारीले २१ वैशाखमा मन्त्रिपरिषद्को सिफारिसमा दोस्रोपटक संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश–२०७८ जारी गरेकी थिइन्।

अध्यादेश जारी भएपछि परिषद्को बैठक बस्न लागेको हो। बैठकले रिक्त रहेका संवैधानिक आयोगहरूमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button