लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको कार्यक्रम स्वीकृत

लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको लागि हुने उपनिर्वाचन कार्यक्रम मंगलबार स्वीकृत भएको छ । निर्वाचन आयोगले आउँदो जेठ १७ गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको हो।
स्वीकृत कार्यक्रम अनुसार जेठ १ गते मतदाता नामावली प्रकाशन गर्ने र दाबी विरोधको उजुरी दिने, जेठ २ र ३ गते प्राप्त निवेदन तथा उजुरीउपर छानबिन र कारबाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।
यस्तै, जेठ ४ गते उमेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उमेदवारको सूची प्रकाशन गर्ने, जेठ ५, ६ र ७ गते उमेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने तथा उमेदवारको नामावली प्रकाशन गर्ने, जेठ ८ गते उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम रहेको छ । यस्तै, जेठ ९ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।