काठमाडौं । निषेधाज्ञा लागू भएका जिल्लाको सङ्ख्या ७३ पुगेको छ । कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि ६७ जिल्लामा पूर्ण र ६ जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ ।
भोजपुरमा गएरातिदेखि निषेधाज्ञा शुरु भएको छ भने मुस्ताङमा आज राति १२ बजेदेखि निषेधाज्ञा शुरु हुँदैछ । गृह मन्त्रालयका अनुसार मनाङ, रुकुमपूर्व, तेह्रथुम र खोटाङले निषेधाज्ञा लागू गरेका छैनन् । निषेधाज्ञाको दायरा फराकिलो पार्दै कडाइ गर्दै लगिए पनि कोरोना सङ्क्रमणको गति भने झनै बढिरहेको छ ।
नेपालमा यही बैशाख ७ गतेदेखि निषेधाज्ञाको आदेश लागू गरी नियन्त्रणको प्रयास सुरु भएको थियो । बैशाख १६ गतेदेखि भने आदेश लागू गर्ने क्रम तीव्र भएको थियो । एक महिनाको अवधिमा देश नै ठप्प हुनेसम्मको अवस्थामा आइपुगेको छ । नेपालमा पछिल्लो साताको तथ्यांक अनुसार कोरोना संक्रमितको सङ्या ५१ प्रतिशतले बढिरहेको छ ।
भारतभन्दा नेपालमा संक्रमण र मृत्युदर निकै बढी रहेको स्वास्थ्य मन्त्रालयको सरुवा रोग विशेषज्ञ डा. अर्चना श्रेष्ठले जानकारी दिइन । नेपालमा प्रति १० लाखमा तीन सय चार जना र भारतमा प्रति १० लाखमा दुई सय ४० जना मात्रै सङ्क्रमण दर रहेको छ । त्यस्तै नेपालमा प्रति १० लाखमा ३ दशमलव ३ जनाको ज्यान गइरहेको छ भने भारतमा प्रति १० लाखमा दुई दशमलव पाँच जनाको मात्रै ज्यान गइरहेको छ ।