सांसद निरु पालको पहलबाट अक्सिजनका लागि महाकाली अस्पताललाई ४ करोड सहयोग

कञ्चनपुर / विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको दोस्रो लहरकाे संक्रमण कञ्चनपुरमा पनि दिनप्रतिदिन बढ्दो क्रममा छ। जिल्ला स्थित महाकाली अस्पतालमा यतिबेला काेराेना संक्रमित र अन्य विरामीहरूले भरिभराउ छ।
विरामीकाे चाप बढेसँगै अस्पतालमा अक्सिजन, स्वास्थ्यकर्मी लगायत स्वास्थ्य सामग्रीको दिनप्रतिदिन अभाव हुँदै गएको छ। त्यसका बाबजुद पनि महाकाली अस्पतालले कोरोना संक्रमित र अन्य विरामीकाे उपचार गरिरहेको छ।
अस्पतालमा पर्याप्त अक्सिजन सिलिण्डर नहुँदा कोरोना संक्रमितको संख्या बढ्दै गएको बेला सांसद निरु पालको पहलमा अर्थ मन्त्रालयले अक्सिजन प्लान्ट निर्माणका लागि ४ करोड रुपैयाँ महाकाली अस्पताललाई दिने भएको छ।
कोरोना संक्रमितको संख्या बढ्दै गईहेको र त्यहाँ अक्सिजन नपाएर विरामीहरुको छटपटाहट देखेर सांसद पालले २०७८ बैशाख २६ गते महाकाली अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ४ करोडको माग गरेकी थिईन्।
उनले अस्पताललाई रकम दिन पहल गर्ने स्वास्थ्य मन्त्री, अर्थसचिवलाई समेत धन्यवाद दिएकी छन्। अस्पतालमा भएका डाक्टर सहित ३३ जना स्वास्थ्यकर्मी आफै कोरोना संक्रमित छन्। तर पनि स्वास्थ्यकर्मीको टोली भने दिनरात नभनेर सेवा दिईरहेका छन्। अस्पतालमा अहिले दैनिक ७०/८० थान सिलिण्डर खपत हुने गरेको छ।
महाकाली अस्पतालमा दैनिक ६ थान सिलिण्डर मात्र भर्ने क्षमताको सानो अक्सिजन प्लान्ट छ। महाकाली अस्पतालको अक्सिजन प्लान्ट सानो भएका सिलिण्डहरु भर्न धनगढी नेपालगन्जसम्म पठाउनुपर्ने बाध्यता रहेको छ।
महाकाली अस्पतालमा अक्सिजन तथा स्वास्थ्य सामाग्री अभावलाई मध्यनजर गर्दै स्थानीय तह, उद्योग वाणिज्य संघ, सहकारी, युवा व्यवसायी, समाजसेवी लगायतले अक्सिजन प्लान्ट निर्माण र सिलिण्डर संकलनमा जुटिसकेका छन्।
भीमदत्त नगरपालिकाले २० लाख र बेदकोट नगरपालिकाले १० लाख अस्पताललाई आर्थिक सहयोग समेत गरिसकेको छ। यस्तै उद्योग वाणिज्य संघ र युवाहरुले एक हप्तामा दैनिक ५०/५० सिलिण्डर अक्सिजन सहयोग गर्ने प्रतिवद्धता अनुसार काम गरिरहेका छन्।