प्रेस युनियन काठमाडौँद्वारा कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौँ शाखाले कोरोना संक्रमणको समयमा कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण देखिएसँगै युनियन काठमाडौँ शाखाले उपत्यकाका विभिन्न सञ्चारगृहमा पुगेर कार्यक्षेत्रमा खटिएका पत्रकारलाई मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
युनियनले बुधबार प्राइम टाइम्स टेलिभिजन, हिमालय टेलिभिजन तथा एपिवान टेलिभिजनमा कार्यरत पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेको शाखाका अध्यक्ष जगन्नाथ दुलालले जानकारी दिए ।
काठमाडौँ शाखाले आगामी दिनमा एभिन्यूज, ग्लोबल, इमेजलगायतका सञ्चारगृहमा स्वास्थ्य सामग्री वितरण गर्ने जनाएको छ । अध्यक्ष दुलालका अनुसार ५ सयप्रति मास्क र १० बोतल स्यानिटाइजर वितरण गरिनेछ ।
गत वर्ष कोरोना संक्रमणको बेलामा प्रेस युनियन काठमाडौँ शाखाले काठमाडौँमा क्रियाशील ४ सयभन्दा बढी पत्रकारलाई प्रेस लेखिएको पहेँलो ज्याकेट वितरण गरेको थियो ।