नेकपा एमालेमा देखिएको विवाद समाधान गर्न ओली र नेपालबीच वार्ताको सम्भावना बढ्यो

काठमाडौं । नेकपा एमालेमा देखिएको विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ताको सम्भवना बढेको छ ।

ओलीको सन्देशसहित आज बिहान नेपाल निवास पुगेका अर्थमन्त्री विष्णु पौडेलसँगको कुराकानीपछि दुई नेताबीच वार्ताको वातावरण बनेको हो ।

ओलीले नेपाललाई हिजो राति फोन गरेका थिए । तर, नेपालले फोन नउठाएपछि आज बिहान साढे ८ बजेतिर पौडेल नेपाल निवास पुगेका थिए । निवासमा नेता सोमप्रसाद पाण्डे पनि थिए ।

अर्थमन्त्री पौडेलले मिलेर अघि बढ्नुपर्ने ओलीको सन्देश सुनाएका थिए । पूर्ववतः सन्देश आएको भन्दै नेता नेपालले ‘ठोस प्रस्ताव’ आउनुपर्ने बताएका थिए । आफूहरुले राख्दै आएको मागप्रति ओली संवेदनशील नभएको भन्दै नेपालले गुनासो गरेका थिए ।

नेता नेपाल समूहका सांसदहरु सामूहिक राजीनामाको तयारीमा छन् । पार्टीलाई एक ढिक्का बनाएर अघि नबढ्ने हो भने आफूहरुले सामूहिक राजीनामा दिन लागिएको पनि नेपालले बताएको स्रोतले जनायो ।

ओलीले भने स्थायी समितिको बैठकबाट नेता नेपालसँगको वार्ताका लागि सम्पूर्ण अधिकार आफूले लिने निर्णय गराउँदैछन् । स्थायी कमिटी बैठकबाट अधिकार लिएर नेपाल पक्षसँग वार्ता गर्ने तयारीमा ओली छन् ।

बहुमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज साँझ ९ बजे सकिँदैछ । यो अवधिमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा उपेन्द्र यादव समूहले नयाँ सरकार गठनका लागि पहल जारी राखेको छ ।

माधव नेपाल समूहका २८ सांसदले राजीनामा दिएमा मात्र विपक्षी गठबन्धनको बहुमत पुग्नेछ । बुधबार नेता नेपालसहित नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास पुगेका थिए । उनीहरुबीच करिब ३ घण्टा छलफल भएको थियो ।

माधव नेपाल र ओली समूहका दोस्रो बरियताका नेताहरुको दवावका कारण नेपाल सामूहिक राजीनामा दिनबाट हच्किएका छन् । सामूहिक राजीनामा दिने पक्षमा थोरै नेता देखिएपछि नेता नेपाल दवावमा छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button