ओली प्रचण्डबीचको छलफल समाधान उन्मुख, वार्ता जारी राख्ने सहमति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’बीचको वार्ता सकिएको छ ।
विहीबार(आज) प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँगको भेटवार्ताका लागि प्रचण्ड बालुवाटार पुगेका थिए । दुई अध्यक्षबीच छलफल सकारात्मक रुपमा अघि बढेको बताइएको छ । ‘आजको वार्ता सकारात्मक भएको छ,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले भने, ‘थप छलफल जारी राख्ने सहमति पनि भएको छ।’ ९ दिनको संवादहीनताको अवस्थापछि दुई नेताबीच आज भेटवार्ता भएको हो ।
यसअघि साउन १८ गतेदेखि तीन दिन लगातार ओली र प्रचण्डबीच वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवाचन्द्र नेम्वाङसहित छलफल भएको थियो । तर उक्त छलफलमा कुनै निष्कर्ष भने निस्किएको थिएन । तर, गत साउन २१ गते अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमित पत्रकारलाई बोलाएर भेला गरेपछि दुई अध्यक्षको छलफल रोकिएको थियो ।
प्रधानमन्त्री ओलीले हिजो एपीवान टेलिभिजनको एक कार्यक्रमलाई दिएको अन्तर्वार्तामा पाँच दिन भित्र पार्टीको सिनारियो चेन्ज हुने बताएसँगै आजै प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।