ओली र नेपालसहित दुवै पक्षका नेताहरूको वार्ता आज साँझ

काठमाडौं- नेकपा (एमाले)मा चुलिएको संकट अचानक संवादतर्फ उन्मुख भएपछि दुवै पक्षका शीर्ष नेताहरुसहितको वार्ता हुने तय भएको छ।

वार्ता शुक्रबार साँझ हुने तय भएको नेपालपक्षका एक स्थायी कमिटी सदस्यले बताए।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन र पुनः प्रधानमन्त्री बन्नबाट रोक्न सामूहिक राजीनामा दिने निर्क्योलमा पुगेको नेपाल पक्ष बिहीबारदेखि त्यसलाई स्थगन गरेर संवादतर्फ अघि बढेको छ।

ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार भएको तीन घण्टा लामो वार्ताले परिस्थिति संवादतर्फ मोडेको थियो।

‘संवादहीनता तोडिएर संवाद शुरु भएको छ, यो नै अहिलेको उपलब्धि हो’, नेपालनिकट ती स्थायी कमिटी सदस्यले भने, ‘अहिलेको मुख्य प्राथमिकता लगभग फुटिसकेको पार्टी जोगाउने भएकाले आजै हामी दुवै पक्ष बस्ने टुंगो लागेको छ।’

शुक्रबार साँझ ६ बजे ओली र नेपालसहित दुवै पक्षका नेताहरु बस्ने टुंगो लागेको तर ठाउँ भने तय भइनसकेको उनले बताए।

ओली र नेपालबीच बिहीबार पार्टीभित्रका समस्या समाधानका लागि कार्यदल गठन गर्ने सहमति भएको थियो।

कार्यदल बन्न बाँकी नै रहेका बेला शीर्ष नेताहरुसहित वार्ता हुन लागेको हो।

वार्तामा एमाले अध्यक्ष ओलीसँगै उनीनिकट रहेका स्थायी कमिटी सदस्यहरु विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी हुने तय भएको छ।

त्यसैगरी, एमाले वरिष्ठ नेता नेपालसँगै उनको पक्षबाट स्थायी कमिटी सदस्यहरु भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी हुने तय भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button