हाम्रो स्वास्थ्य प्रणालीमा केही समस्या देखिएका होलान् तर ‘कोल्याप्स’ भएको छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संंक्रमण बढिरहेका बेला जनतालाई अत्यास लाग्ने अभिव्यक्ति नदिन आह्वान गरेका छन् ।

‘हाम्रो स्वास्थ्य प्रणालीमा केही समस्या देखिएका होलान् तर ‘कोल्याप्स’ भएको छैन’, प्रधानमन्त्रीले भने, ‘समस्या भए समस्या छन् पो भन्नुप-यो, कोल्याप्स भयो त भन्नुभएन नि’, प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जानकारसँगको छलफलमा उनले भने, ‘कोरोना नियन्त्रण गर्न सरकारले केही गरेर भनेर भन्नु मूर्खता हो ।’

उनले एउटा पनि कोरोना परीक्षण गर्ने प्रयोगशाला नभएको मुलुकमा अहिले ८० भन्दा बढी प्रयोगशाला स्थापना भएको दाबी गर्दै भने, ‘यो अवधिमा नेपालको स्वास्थ्य क्षेत्रमा निकै सुधार भएको छ ।

महामारी पहिल्यै थाहा हुने कुरा भएन, अप्रत्याशित महामारीको सामना गर्नुपर्दा केही समस्या हुन सक्छ ।’ उनले सरकारले नागरिकको उपचार गर्ने प्रतिवद्धता पनि प्रकट गरेका छन् । ‘जनतालाई सजग गराउन आवश्यक छ ।

कोरोनाका लागि कुनै पनि तोकिएको औषधि छैन तर पनि जनतामा यो खाएर निको हुन्छ कि भन्ने विश्वास छ, रेम्डिसिभिर नै कोरोनाको औषधि होइन, यसलाई जनतामा बुझाउनुपर्छ’, प्रधानमन्त्री ओलीले भने । कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्न उनले सरकारी अधिकारीलाई निर्देशन दिएका छन् । उनले कोरानाको सामना गर्न सरकार सक्षम रहेको बताएका हुन् ।

‘हामी कोरोना सामना गर्न सक्षम छौँ, सरकारले थुप्रै विषय कार्यान्वयन गरेको छ, नियन्त्रणका उपाय गर्न तयार र उत्सुक छ, आगामी दिनमा पनि निरन्तर हुन्छ’, उनले भने, ‘सरकारका प्रयासमा स्वास्थ्य क्षेत्र, निजी व्यावसायिक क्षेत्र, गैरसरकारी संस्था, गैरआवासीय नेपाली सबैका आआफ्ना ठाउँबाट संगठित प्रयासको खाँचो छ ।” उनले सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालनामा सबैले ध्यान दिनुपर्ने बताए ।

अक्सिजनको आपूर्ति तथा उपकरणको उपलब्धतामा सबैको जोड हुनुपर्ने बताउँदै उनले अक्सिजन, औषधिलगायत अत्यावश्यक सामग्रीको जोहो गर्न सरकार गम्भीर भएर लाग्ने दृढता व्यक्त गरे ।

कोरोना नियन्त्रणका लागि सञ्चालनमा ल्याइएका हटलाइन नम्बरमा फोन नउठ्ने गुनासा बाहिर आएकाले समस्या समाधान तत्काल गर्न आवश्यक जनशक्तिको व्यवस्था गर्न उनले निर्देशन दिए । ‘त्यहाँ पालो लगाएर मान्छे राख्नुस्, देशभरिका अस्पतालसँग, सुरक्षा निकायका प्रमुखसँग समन्वय हुनुपर्छ, आएको गुनासाको उचित सम्बोधन हुनुपर्छ, धेरै लाइन चालू गर्नुपर्छ’, उनले भने ।

संक्रमित होम आइसोलेशनमा बस्दा समुदायमा संक्रमण फैलिएको हुन सक्ने तर्फ सरकार सचेत रहेको जनाउँदै उनले होम आइसोलेशनमा बसेका संक्रमितले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा जोड दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले करीब ९२ प्रतिशत संक्रमित होम आइसोलेशनमा छन् । छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री, सुरक्षा निकायका प्रमुख, विशेषज्ञ चिकित्सक, निजी क्षेत्रका प्रतिनिधिलगायतको उपस्थित थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button