एमालेभित्र उत्पन्न विवाद समाधान गर्न आज पनि ओली र नेपाल छलफल गर्दै

काठमाडौं । नेकपा (एमाले) विवाद समाधान गर्ने विषयमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज अपरान्ह छलफल हुने भएको छ ।
गत शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र नेता नेपालले आज त्यसैलाई निरन्तरता दिँदै कार्यदलमा रहने सदस्यबारे छलफल गर्न लागेका हुन् । यद्यपि दुई नेताबीचको भेटवार्ताको समय भने तय भइनसकेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
अध्यक्ष ओलीले वार्ता गर्न आफ्ना तर्फबाट गृहमन्त्री राम बहादुर थापा‘बादल’लाई खटाउने तयारी गरेका छन् । २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएपछि एमाले प्रवेश गरेका बादल प्रधानमन्त्री ओलीका विश्वास पात्र बनेका छन् ।
शुक्रबार प्रधानमन्त्री कार्यालयमा नेपाल पक्षसँग भएको वार्तामा ओलीले बादललाई लगेका थिए । बैठकमा उपस्थित नेपाल पक्षीय नेताहरुले बादललाई उपस्थित गराएको असहमति जनाएका थिए । उनीहरुले एमालेको झगडा मिलाउने बैठकमा बादललाई राख्न नहुने तर्क गरेका थिए ।