नागरिकको जीवनरक्षा नै सरकारको प्राथमिकता : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना संक्रमण रोकथाम र न्यूनिकरणका साथै नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।
मंगलबार ललितपुरस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा पुगेका मन्त्री श्रेष्ठले सरकारको पहिलो प्राथमिकता जनताको जीवनरक्षा र कोरोना नियन्त्रण भएको भन्दै यसमा सबैको सकारात्मक भूमिका आवश्यक रहेको बताएका हुन् ।
अहिले राज्यको सम्पूर्ण स्रोत र साधन नै कोरोना नियन्त्रणमा केन्द्रित रहेको उनको भनाइ छ । त्यस्तै उनले कोरोना संक्रमणलाई मध्यनगर गर्दै नै परीक्षा स्थगित गरिएको जानकारी दिए । परीक्षाको उपयुक्त विकल्प खोजिने उनले बताए ।
उनले कोरोना नियन्त्रणका लागि प्रतिष्ठानले विकास गरेका प्रविधि र कार्ययोजनालाई अझ प्रभावकारी बनाउन र जनमाझ पुर्याउन सरकार प्रतिवद्ध रहेको धारणा राखे ।
सो क्रममा मन्त्री श्रेष्ठले प्रतिष्ठानले निर्माण गरेको अक्सिजन सिलिन्डरको क्षमता मापन प्रविधिको परिक्षणको अवलोकन गरेका थिए । नेपालमा भित्रिएको अक्सिजन सिलिन्डरको क्षमता मापन गर्ने प्रणाली नेपालमा नभएका कारण क्षमता मापन प्रविधिको विकास गरेको प्रतिष्ठानका प्राविधि संकायका प्रमुख इन्जिनियर रवीन्द्र प्रसाद ढकालले जानकारी दिए ।
उनले उक्त प्रविधिको परीक्षण भइरहेको बताए । प्रतिष्ठानले कोभिड–१९ र यसका प्रभाव न्यूनिकरणका लागि गरेका गतिविधिसमेत मन्त्री श्रेष्ठलाई जानकारी गराएको थियो ।